[1] याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; किनकि उहाँले अद्भुत कार्य गर्नुभएको छ; उहाँका दाहिने हात र पवित्र पाखुराले उहाँको निम्ति विजयका कामहरू गरेका छन्।
[2] याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ; र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
[3] उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम, र उहाँको विश्वासयोग्यता स्मरण गर्नुभएको छ; पृथ्वीका सम्पूर्ण सिमानाहरूले हाम्रा परमेश्वरका मुक्तिलाई देखेका छन्।
[4] हे सारा पृथ्वी, आनन्दसाथ उच्च सोरले याहवेहको जयजयकार गर; सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;
[5] वीणा बजाएर याहवेहको भजन गाओ! वीणा र सुमधुर गीतकासाथ,
[6] तुरहीहरू र भेडाका सिङ फुकेर, राजा याहवेहको सामु आनन्दले जयजयकार गर!
[7] समुद्र र त्यसमा भएका सबै थोकले, संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।
[8] नदीहरूका तरङ्गहरूले ताली बजाऊन्; पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;
[9] तिनीहरूले याहवेहको सामु गाऊन्; किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारलाई धार्मिकताकोसाथ र जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।