Skip to content
Opens in a new window
Listen to this chapter • 3:14

[1] हे हाम्रा परमेश्‍वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ; तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ।

[2] तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्‍वर हुनुहुन्छ। तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्।

[3] जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, तब हाम्रा अपराधहरूलाई तपाईंले क्षमा गरिदिनुभयो।

[4] धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्‍नुहुन्छ, र तपाईंको मन्दिरको आँगनमा बस्‍नलाई आफू नजिक ल्याउनुहुन्छ! तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ।

[5] तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ; हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, पृथ्वीको छेउसम्मका समस्त मानिसहरू र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ,

[6] तपाईंले आफ्नो शक्तिद्वारा पर्वतहरू निर्माण गर्नुभयो। तपाईंले आफूलाई शक्तिले सुसज्जित पार्नुभएको छ।

[7] जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन, र राष्ट्रहरूबीच भएको कोलाहल शान्त गर्नुभएको छ।

[8] तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्‍क पर्छन्; जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ, तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ।

[9] तपाईंले भूमिको वास्ता गर्नुहुन्छ र पानीले भिजाउनुहुन्छ; तपाईंले भूमिलाई प्रशस्त गरी मलिलो बनाउनुहुन्छ। मानिसहरूलाई अन्‍नबाली जुटाउनलाई, परमेश्‍वरका नदीहरू पानीले भरिएका छन्; किनकि तपाईंले यसरी नै निर्धारण गर्नुभएको छ।

[10] तपाईंले त्यसका गराहरूलाई पानीले भिजाउनुहुन्छ र त्यसका डीलहरूलाई सम्म पार्नुहुन्छ; तपाईंले खेतलाई झरीले भिजाएर नरम पार्नुहुन्छ, र त्यसको उब्जनीलाई आशिष् दिनुहुन्छ।

[11] तपाईंको प्रशस्तताले वर्षलाई मुकुट पहिराउनुहुन्छ र तपाईंको प्रशस्त आशिष्‌को अन्‍नबालीले तपाईंका गाडाहरू भरिएर पोखिन्छन्।

[12] मरुभूमिका वस्तु चर्ने खर्कहरू हरियो भएका छन्; डाँडाहरू हर्षले सुसज्जित छन्।

[13] हरियो खर्कहरू भेडाबाख्राहरूले भरिभराउ भएका छन्; र बेँसीहरू बालीले ढाकिएका छन्; तिनीहरू सबै आनन्दले कराउँछन् र भजन गाउँछन्।

भजनसंग्रह — Chapters