Skip to content
Opens in a new window
Listen to this chapter • 3:39

[1] हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ; सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ।

[2] वीणा बजाएर याहवेहको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ।

[3] उहाँको निम्ति एउटा नयाँ गीत गाओ; निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर।

[4] किनकि याहवेहको वचन ठिक र सत्य छ; उहाँ आफ्ना सबै कामहरूमा विश्‍वासयोग्य हुनुहुन्छ।

[5] याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ; उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ।

[6] याहवेहको वचनद्वारा आकाशहरू बनिए, उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए।

[7] उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ।

[8] सारा पृथ्वीले याहवेहको डर मानोस्; संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्।

[9] किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो; उहाँको आज्ञाले पृथ्वी स्थिर भयो।

[10] याहवेहले राष्ट्रहरूका योजनाहरू रद्द तुल्याउनुहुन्छ; उहाँले मानिसहरूका उद्देश्यलाई विफल तुल्याउनुहुन्छ।

[11] तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्; उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।

[12] धन्यको हो त्यो राष्ट्र, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ, ती प्रजा, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।

[13] याहवेहले स्वर्गबाट तल हेर्नुहुन्छ; उहाँले सबै मानव-जातिलाई देख्नुहुन्छ।

[14] उहाँले आफ्नो वासस्थानबाट तल पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर लगाउनुहुन्छ।

[15] उहाँले नै सबैको हृदयको रचना गर्नुहुन्छ, तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।

[16] कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन; कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन।

[17] घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ; त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन।

[18] तर याहवेहको नजर उहाँका भय मान्‍नेहरूमाथि रहन्छ; तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ,

[19] तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।

[20] हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ; उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ।

[21] उहाँमा नै हाम्रा हृदय रमाउँछन्; किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ।

[22] हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार, तपाईंको अचुक प्रेम हामीमाथि रहोस्।

भजनसंग्रह — Chapters