Skip to content
Opens in a new window
Listen to this chapter • 26:48

[1] तिनीहरू धन्यका हुन्, जो निर्दोष जीवन जिउँछन्, जो याहवेहका व्यवस्थाअनुसार हिँड्छन्।

[2] तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्, र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्।

[3] तिनीहरूले केही खराबी गर्दैनन्; तर उहाँका मार्गलाई पछ्याउँछन्।

[4] तपाईंका विधिहरू होशियारपूर्वक पालन गरौँ भनी तपाईंले हामीलाई आज्ञा दिनुभयो।

[5] अहो, तपाईंका उर्दीहरू पालन गर्नलाई, मेरा मार्गहरू दृढ भइदिए कति असल हुनेथियो!

[6] तब तपाईंका सम्पूर्ण आज्ञाहरू पालन गरेर म शर्ममा पर्नेथिइनँ।

[7] जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु, तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु।

[8] म तपाईंका उर्दीहरू पालन गर्नेछु; मलाई कहिल्यै नत्याग्नुहोस्! ב बेथ

[9] जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ? तपाईंको वचनअनुसार जीवन बिताएर नै हो।

[10] मेरो सारा हृदयले तपाईंलाई खोज्दछु; तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!

[11] तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।

[12] हे याहवेह, तपाईंको प्रशंसा होस्; तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!

[13] तपाईंका मुखबाट निस्केका सम्पूर्ण नियमहरू मैले मेरा ओठले वर्णन गरेको छु।

[14] कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ, म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु।

[15] म तपाईंका विधिहरूमा मनन गर्छु, र तपाईंका मार्गहरूमा ध्यान दिन्छु।

[16] म तपाईंका उर्दीहरूमा रमाउनेछु; म तपाईंको वचन बिर्सनेछैनँ। ג गिमेल

[17] आफ्नो सेवकलाई दया गर्नुहोस्; ताकि म जीवित रहन सकूँ र तपाईंको वचन पालन गर्न सकूँ।

[18] मेरा आँखाहरू खोलिदिनुहोस्, ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ।

[19] यस पृथ्वीमा म एउटा परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्!

[20] हरपल तपाईंका नियमहरू जान्‍ने तिर्सनाले मेरो प्राण छटपटिन्छ।

[21] ती अहङ्कारीहरू, जो श्रापित छन्; र तपाईंका आज्ञाहरूबाट भड्किएर हिँड्छन्; तिनीहरूलाई तपाईंले हप्काउनुहुन्छ।

[22] मबाट तिनीहरूका गिल्‍ला र तिरस्कार हटाउनुहोस्; किनकि म तपाईंका कानुनहरू पालन गर्दछु।

[23] शासकहरू एकसाथ बसेर मेरो विरुद्धमा जाल रचे तापनि तपाईंको सेवकले तपाईंकै उर्दीहरूमा ध्यान दिनेछ।

[24] तपाईंका कानुनहरू मेरा आनन्द हुन्; ती मेरा सल्‍लाहकारहरू हुन्। ד दालेथ

[25] म धुलोमा लम्पसार परेको छु; आफ्नो वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!

[26] मैले मेरा चालचलनहरू बताएँ, र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!

[27] मलाई तपाईंका विधिहरूका अर्थ बुझ्ने बनाउनुहोस्; ताकि म तपाईंका अचम्मका कामहरूमा ध्यान दिन सकूँ।

[28] शोकले गर्दा मेरो प्राण थाकेको छ; आफ्नो वचनद्वारा मलाई बलियो पार्नुहोस्!

[29] मलाई छलपूर्ण मार्गबाट जोगाउनुहोस्; ममाथि अनुग्रही बन्‍नुहोस् र मलाई तपाईंको व्यवस्था सिकाउनुहोस्!

[30] मैले विश्‍वासयोग्यताको मार्ग छानेको छु; मैले मेरो हृदय तपाईंका नियमहरूमा लगाएको छु।

[31] हे याहवेह, म तपाईंका कानुनहरूमा दृढ छु; मलाई शर्ममा पर्न नदिनुहोस्!

[32] म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्छु; किनकि तपाईंले मेरो समझलाई फराकिलो तुल्याउनुभएको छ। ה हे

[33] हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्; ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ।

[34] मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ।

[35] मलाई तपाईंका आज्ञाहरूका मार्गमा डोर्‍याउनुहोस्; किनकि म त्यसैमा प्रसन्‍न हुन्छु।

[36] मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्! स्वार्थी लाभतर्फ होइन।

[37] व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्; तपाईंको वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!

[38] आफ्ना सेवकलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्; ताकि तपाईंको भय रहोस्!

[39] जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्; किनकि तपाईंका नियमहरू असल छन्!

[40] हेर्नुहोस्, म तपाईंका विधिहरूको कति अभिलाषी छु! तपाईंको धार्मिकतामा मेरो जीवनको रक्षा गर्नुहोस्! ו वाव

[41] हे याहवेह, मलाई तपाईंका अचुक प्रेम मिलोस्, र तपाईंको प्रतिज्ञाअनुसार तपाईंको मुक्ति मकहाँ आओस्!

[42] तब मलाई गिल्‍ला गर्नेहरूलाई म जवाफ दिन सकूँ; किनकि म तपाईंको वचनमा भरोसा राख्दछु।

[43] तपाईंको सत्य वचन मेरा मुखबाट कहिल्यै नखोसिदिनुहोस्; किनकि मैले तपाईंका नियमहरूमा आफ्नो आशा राखेको छु।

[44] म तपाईंको व्यवस्था निरन्तर, सदासर्वदा पालन गर्नेछु।

[45] म स्वतन्त्र भएर हिँड्‍डुल गर्नेछु; किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु।

[46] म तपाईंका कानुनहरूका विषयमा राजाहरूका सामु बोल्नेछु, र म लाजमा पर्नेछैनँ।

[47] किनकि म तपाईंका आज्ञाहरूमा रमाउँछु; किनकि म तिनलाई प्रेम गर्दछु।

[48] मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतर्फ मेरा आफ्ना हातहरू उचाल्छु; ताकि म तपाईंका उर्दीहरूमाथि मनन गर्न सकूँ। ז जाइन्

[49] तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्; किनकि तपाईंले मलाई आशा दिनुभएको छ।

[50] मेरो कष्‍टमा मेरो सान्त्वना यही छ: तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ।

[51] अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्; तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ।

[52] हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु, अनि म तिनमा सान्त्वना पाउँदछु।

[53] तपाईंको व्यवस्था त्याग्ने दुष्‍टहरूले गर्दा, मलाई असाध्यै रिस उठेको छ।

[54] म जहाँ बसोबास गरेँ तापनि तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्।

[55] हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु, ताकि म तपाईंको व्यवस्था पालन गर्न सकूँ।

[56] तपाईंका विधिहरू पालन गर्नु नै मेरो आचरण हुन गएको छ। ח हेथ

[57] हे याहवेह, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचनहरू पालन गर्नेछु भनी मैले प्रतिज्ञा गरेको छु।

[58] मैले आफ्नो सारा हृदयले तपाईंको मुहारको खोजी गरेको छु; तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रही बन्‍नुहोस्!

[59] मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ, अनि आफ्ना कदमहरू तपाईंका कानुनहरूतर्फ चालेको छु।

[60] तपाईंका आज्ञाहरू पालन गर्न म हतारिनेछु, र ढिलो गर्नेछैनँ।

[61] दुष्‍टहरूले मलाई डोरीहरूले बाँधे तापनि म तपाईंका व्यवस्था बिर्सनेछैनँ।

[62] तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंलाई धन्यवाद चढाउन म मध्यरातमा उठ्दछु।

[63] म तपाईंको भय मान्‍नेहरू र तपाईंका विधिहरू पालन गर्नेहरू सबैको मित्र हुँ।

[64] हे याहवेह, पृथ्वी तपाईंको अचुक प्रेमले भरिपूर्ण छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! ט तेथ

[65] हे याहवेह, तपाईंले आफ्नो वचनअनुसार आफ्नो सेवकको भलाइ गर्नुहोस्।

[66] मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्‍वास गर्दछु।

[67] दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु।

[68] तपाईं भलो हुनुहुन्छ, र तपाईं जे गर्नुहुन्छ, भलो नै गर्नुहुन्छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!

[69] अहङ्कारीहरूका झूटले मलाई कलङ्कित पारे तापनि मेरो सारा हृदयले तपाईंका विधिहरू पालन गर्दछु।

[70] तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर मचाहिँ तपाईंको व्यवस्थामा प्रसन्‍न हुन्छु।

[71] दुःख भोग्नु मेरा लागि असलै भयो, ताकि यसरी नै मैले तपाईंका उर्दीहरू सिक्न सकूँ।

[72] तपाईंको मुखबाट निस्केका व्यवस्था, मेरा निम्ति हजारौँ चाँदी र सुनका टुक्राहरूभन्दा ज्यादा मूल्यवान् छन्। י योध

[73] तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका हुन्; तपाईंका आज्ञाहरू सिक्ने समझशक्ति मलाई दिनुहोस्।

[74] तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्; किनकि मैले मेरो आशा तपाईंको वचनमा राखेको छु।

[75] हे याहवेह, म जान्दछु, तपाईंका नियमहरू धार्मिक छन्, र आफ्नो विश्‍वसतामा तपाईंले मलाई ताडना दिनुभएको छ।

[76] आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्!

[77] तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ; किनकि म तपाईंको व्यवस्थामा नै रमाउँदछु।

[78] कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्; तर मचाहिँ तपाईंका विधिहरूमा मनन गर्नेछु।

[79] तपाईंको डर मान्‍नेहरू, र तपाईंका कानुन बुझ्नेहरू मतिर फर्कून्।

[80] मेरो निर्दोष हृदयले तपाईंका उर्दीहरू पालन गर्न सकूँ, ताकि म शर्ममा नपरूँ! כ काफ

[81] मेरो प्राण तपाईंको मुक्ति प्राप्‍त गर्ने तिर्सनामा व्याकुल छ; तर मैले आफ्नो आशा तपाईंको वचनमा राखेको छु।

[82] तपाईंको प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्; म सोध्छु, “तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?”

[83] म धुवाँमा राख्दा-राख्दै खुम्चिएको दाखमद्यको मशकझैँ भएँ; तापनि मैले तपाईंका उर्दीहरू बिर्सेको छैनँ।

[84] तपाईंको सेवकले कहिलेसम्म पर्खनुपर्छ? मलाई खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ?

[85] तपाईंको व्यवस्थाको विरोध गर्ने अहङ्कारीहरूले मलाई पासोमा पार्न खाडल खनेका छन्।

[86] तपाईंका सारा आज्ञाहरू भरोसायोग्यका छन्; मलाई मदत गर्नुहोस्, म कारणविना सताइएको छु।

[87] तिनीहरूले झण्डै मलाई पृथ्वीबाट नाश गरे; तर मैले तपाईंका विधिहरू त्यागेको छैनँ।

[88] तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्; ताकि म तपाईंको मुखबाट निस्केका कानुनहरू पालन गर्न सकूँ। ל लामेध

[89] हे याहवेह, तपाईंको वचन अनन्त छ; यो स्वर्गमा सदैव दृढ रहन्छ।

[90] तपाईंको विश्‍वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ; तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ।

[91] तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्; किनकि सबै सृष्‍टिले तपाईंको सेवा गर्दछन्।

[92] तपाईंको व्यवस्थामा मेरो निम्ति आनन्द नहुँदो हो त म आफ्नो पीडामा नष्‍ट भइसकेको हुन्थेँ।

[93] तपाईंका विधिहरू म कहिल्यै बिर्सनेछैनँ; किनकि तीद्वारा नै तपाईंले मेरो जीवनको रक्षा गर्नुभएको छ।

[94] मलाई बचाउनुहोस्; किनकि म तपाईंकै हुँ; मैले तपाईंका विधिहरूको खोजी गरेको छु।

[95] दुष्‍टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्; तर मचाहिँ तपाईंका कानुनहरूमा ध्यान दिनेछु।

[96] हरेक सिद्धताको पनि सीमा भएको मैले देखेको छु; तर तपाईंका आज्ञाहरू असीमित छन्। מ मेम

[97] अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म त्यसमा नै ध्यान गर्दछु।

[98] तपाईंका आज्ञाहरू सधैँ मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्।

[99] मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्‍टि ज्यादा छ; किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु।

[100] सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ; किनकि म तपाईंका विधिहरू पालन गर्दछु।

[101] तपाईंको वचन पालन गर्न सकूँ भनेर मैले आफ्ना खुट्टाहरूलाई हरेक खराब मार्गदेखि अलग्गै राखेको छु।

[102] तपाईंका नियमहरूबाट म तर्केर हिँडेको छैनँ; किनकि तपाईं आफैँले नै मलाई सिकाउनुभएको छ।

[103] तपाईंका वचनहरू मेरो लागि कति स्वादिष्‍ठ छन्; मेरो मुखमा ती महभन्दा पनि बढी मिठा छन्!

[104] तपाईंका विधिहरूबाट म समझशक्ति प्राप्‍त गर्दछु; त्यसकारण म सबै खराब मार्गहरूलाई घृणा गर्दछु। נ नुन

[105] तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती, र मेरो बाटोका निम्ति ज्योति हो।

[106] मैले शपथ खाएर त्यसलाई पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु।

[107] मैले ज्यादै कष्‍ट भोगेको छु; हे याहवेह, आफ्ना वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!

[108] हे याहवेह, स्वेच्छाले मैले आफ्नो मुखले चढाएको प्रशंसा ग्रहण गर्नुहोस्, र मलाई तपाईंका नियमहरू सिकाउनुहोस्!

[109] मेरो प्राण निरन्तर जोखिममा रहन्छ; तापनि म तपाईंको व्यवस्था बिर्संनेछैनँ।

[110] दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्; तर पनि म तपाईंका विधिहरूबाट तर्केको छैनँ।

[111] तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्। त्यो नै मेरो हृदयको आनन्द हो।

[112] तपाईंका उर्दीहरू अन्त्यसम्म नै पालन गर्न मेरो हृदयले अठोट गरेको छ। ס समेख

[113] दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु।

[114] तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ; तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु।

[115] हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ; ताकि म मेरा परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ!

[116] मेरा परमेश्‍वर, मलाई तपाईंको प्रतिज्ञाअनुसार थामिराख्नुहोस्, र म जीवित रहनेछु; अनि मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्!

[117] मलाई साथ दिनुहोस्, र मेरो उद्धार हुनेछ; म सधैँ तपाईंका उर्दीहरूमा अझ ध्यान दिनेछु।

[118] तपाईंका उर्दीहरूबाट तर्केर जानेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ; किनकि तिनीहरूको धूर्तता व्यर्थ हुन्छ।

[119] पृथ्वीका सबै दुष्‍टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ; यसैले म तपाईंका विधिहरूलाई प्रेम गर्दछु।

[120] तपाईंको भयले मेरो शरीर काम्दछ; म तपाईंका नियमहरूले भयभीत हुन्छु। ע अयिन

[121] जे धार्मिक र न्यायपूर्ण छ, मैले त्यही गरेको छु; मलाई अत्याचार गर्नेहरूका हातमा नछोडिदिनुहोस्!

[122] तपाईंको सेवकको भलाइ सुनिश्‍चित गरिदिनुहोस्; अहङ्कारीहरूले मलाई अत्याचार गर्न नपाऊन्!

[123] तपाईंको मुक्ति र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्।

[124] आफ्नो अचुक प्रेमअनुसार आफ्ना सेवकसँग व्यवहार गर्नुहोस्, अनि मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!

[125] म तपाईंको सेवक हुँ; मलाई अन्तर्दृष्‍टि दिनुहोस्, ताकि म तपाईंका कानुनहरू बुझ्न सकूँ!

[126] हे याहवेह, अब तपाईंले काम गर्ने समय आएको छ; तपाईंको व्यवस्था भङ्ग भएको छ।

[127] किनकि मैले तपाईंका आज्ञाहरूलाई सुन, र निखुर सुनभन्दा पनि बढी प्रेम गर्दछु,

[128] किनकि म तपाईंका सम्पूर्ण विधिहरू उचित ठान्दछु; अनि हरेक खराब मार्गलाई म घृणा गर्दछु। פ पे

[129] तपाईंका कानुनहरू अद्‌भुत छन्; त्यसैले तिनलाई म पालन गर्छु।

[130] तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ; त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ।

[131] म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु।

[132] तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ, मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्!

[133] तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्‍याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्!

[134] मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्, ताकि म तपाईंका विधिहरू पालन गर्न सकूँ।

[135] तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!

[136] मेरा आँखाहरूबाट आँसुका धारा बग्छन्; किनकि तपाईंको व्यवस्था पालन गरिएको छैन। צ साधे

[137] हे याहवेह, तपाईं धर्मी हुनुहुन्छ, अनि तपाईंका नियमहरू सही छन्।

[138] तपाईंले स्थापित गर्नुभएका कानुनहरू धार्मिक छन्; तिनीहरू पूर्ण रूपले भरपर्दा छन्।

[139] मेरो जोशले मलाई खाइसकेको छ; किनकि मेरा शत्रुहरूले तपाईंका वचनहरू वास्ता गर्दैनन्।

[140] तपाईंका प्रतिज्ञाहरू सम्पूर्ण रूपले जाँच गरिएका छन्; र तपाईंको सेवकले तिनलाई प्रेम गर्दछ।

[141] म क्षुद्र र तुच्छ छु; तापनि म तपाईंका विधिहरू बिर्संदिनँ।

[142] तपाईंको धार्मिकता अनन्तकाल छ; अनि तपाईंको व्यवस्था सत्य छ।

[143] ममाथि दुःख र कष्‍ट आइलागेका छन्; तर तपाईंका आज्ञाहरूले मलाई हर्षित बनाउँछन्।

[144] तपाईंका कानुनहरू सदा धार्मिक छन्; मलाई समझशक्ति दिनुहोस्, ताकि म जीवित रहन सकूँ। ק कोफ

[145] हे याहवेह, मेरो सारा हृदयले तपाईंलाई पुकार्छु; मलाई जवाफ दिनुहोस्; र म तपाईंका उर्दीहरू पालन गर्नेछु।

[146] म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्, अनि म तपाईंका कानुनहरू पालन गर्नेछु।

[147] म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु; मैले तपाईंको वचनमाथि आशा राखेको छु।

[148] तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर मेरा आँखाहरू रातका पहरहरूमा खुल्‍ला रहन्छन्।

[149] तपाईंको अचुक प्रेमअनुसार मेरो सोर सुन्‍नुहोस्; हे याहवेह, तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!

[150] दुष्‍ट योजना रच्नेहरू मेरो नजिकै छन्; तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्।

[151] हे याहवेह, अझै पनि तपाईं नजिकै हुनुहुन्छ; र तपाईंका सबै आज्ञाहरू सत्य छन्।

[152] धेरै अगिदेखि नै मैले तपाईंका कानुनहरूबाट सिकेको छु, कि तपाईंले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ। ר रेश

[153] मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनकि मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैनँ।

[154] मेरो पक्षमा बोल्नुहोस्, र मलाई उद्धार गर्नुहोस्; तपाईंको प्रतिज्ञाअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!

[155] दुष्‍टहरूदेखि मुक्ति टाढा छ; किनकि तिनीहरूले तपाईंका उर्दीहरूको खोजी गर्दैनन्।

[156] हे याहवेह, तपाईंको कृपा महान् छन्; तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!

[157] मलाई सताउने मेरा वैरीहरू धेरै छन्; तर म तपाईंका कानुनहरूबाट तर्केको छैनँ।

[158] विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु; किनकि तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्।

[159] हेर्नुहोस्, म कसरी तपाईंका विधिहरूलाई प्रेम गर्दछु; हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!

[160] तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्; तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्। ש सीन र शीन

[161] शासकहरूले कारणविना मलाई खेदो गर्दछन्; तर मेरो हृदयले तपाईंको वचनको भय मान्दछ।

[162] जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, त्यसरी नै म तपाईंको प्रतिज्ञामा रमाउँदछु।

[163] म झूटलाई घृणा गर्दछु, र तुच्छ ठान्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु।

[164] तपाईंका धार्मिक नियमहरूको निम्ति दिनमा म सातपल्ट तपाईंको प्रशंसा गर्दछु।

[165] तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ, अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्‍याउँदैन।

[166] हे याहवेह, म तपाईंको मुक्तिको प्रतीक्षा गर्दछु, र तपाईंका आज्ञाहरू पालन गर्दछु।

[167] म तपाईंका कानुनहरू पालन गर्दछु; किनकि म तिनलाई अत्यन्तै प्रेम गर्दछु।

[168] तपाईंका विधिहरू र तपाईंका कानुनहरू म पालन गर्दछु; किनकि मेरा सम्पूर्ण आचरणहरू तपाईं जान्‍नुहुन्छ। ת ताव

[169] हे याहवेह, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्!

[170] मेरो बिन्ती तपाईंको सामु पुगोस्; तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्!

[171] मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्; किनकि तपाईंले मलाई आफ्ना उर्दीहरू सिकाउनुहुन्छ।

[172] मेरो जिब्रोले तपाईंका वचनको गीत गाओस्; किनकि तपाईंका सम्पूर्ण आज्ञाहरू धार्मिक छन्।

[173] तपाईंको हात मलाई सहयोग गर्न तत्पर रहोस्; किनकि मैले तपाईंका विधिहरूलाई चुनेको छु।

[174] हे याहवेह, म तपाईंको मुक्तिको तिर्सना गर्छु; अनि तपाईंको व्यवस्थाले मलाई हर्षित पार्दछ।

[175] म जीवित रहूँ, ताकि तपाईंको प्रशंसा गर्न सकूँ; अनि तपाईंका नियमहरूले मलाई थामून्।

[176] हराएको भेडाजस्तै म बरालिएको छु। आफ्नो सेवकको खोजी गर्नुहोस्; किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।

भजनसंग्रह — Chapters