[1] याहवेहको प्रशंसा गर! याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
[2] याहवेहका शक्तिशाली कार्यहरू कसले घोषणा गर्न सक्छ र? अथवा उहाँको प्रशंसा कसले सम्पूर्ण रूपले घोषणा गर्न सक्छ र?
[3] तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्, जसले सधैँ उचित काम गर्दछन्।
[4] हे याहवेह, तपाईंका प्रजामाथि कृपादृष्टि गर्नुहुँदा, मेरो स्मरण गर्नुहोस्; तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्;
[5] ताकि तपाईंका चुनिएकाहरूको समृद्धिमा म आनन्दित हुन सकूँ, तपाईंको राष्ट्रको हर्षमा म सहभागी बन्न सकूँ। र तपाईंको उत्तराधिकारीहरूसँग मिलेर तपाईंलाई प्रशंसा दिन सकूँ।
[6] हाम्रा पितापुर्खाले झैँ, हामीले पनि पाप गरेका छौँ; हामीले अधर्म गरेका छौँ, र दुष्टतापूर्ण काम गरेका छौँ।
[7] हाम्रा पितापुर्खा इजिप्टमा हुँदा, तिनीहरूले तपाईंका अचम्मका कामहरूको वास्तै गरेनन्; तिनीहरूले तपाईंको अपार दयाको सम्झना नै गरेनन्; र लाल समुद्रको किनारमा तिनीहरूले तपाईंको विद्रोह गरे।
[8] तापनि आफ्नो महान् पराक्रम प्रकट होस् भनी आफ्नो नामको खातिर, उहाँले तिनीहरूलाई बचाउनुभयो।
[9] उहाँले लाल समुद्रलाई हकार्नुभयो, र त्यो सुकिहाल्यो; उहाँले तिनीहरूलाई समुद्रको गहिराइहरूमा सुक्खा जमिनमाथि जस्तै गरी पार गराउनुभयो।
[10] उहाँले तिनीहरूलाई वैरीका हातबाट बचाउनुभयो; उहाँले तिनीहरूलाई शत्रुको हातबाट उद्धार गर्नुभयो।
[11] तिनीहरूका विरोधीहरूलाई पानीले डुबायो; तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।
[12] तब तिनीहरूले उहाँका प्रतिज्ञाहरूमाथि विश्वास गरे; र उहाँको प्रशंसाको गीत गाए।
[13] तर तिनीहरूले तुरुन्तै उहाँका कामहरू बिर्सिहाले; र तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्।
[14] मरुभूमिमा तिनीहरू धेरै नै खाने लालसामा परे; तिनीहरूले उजाडस्थानमा परमेश्वरको जाँच गरे।
[15] त्यसैले उहाँले तिनीहरूलाई मागेअनुसार दिनुभयो, तर तिनीहरूका बीचमा महामारी पठाउनुभयो।
[16] तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे।
[17] तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो।
[18] तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो; ज्वालाले दुष्टहरूलाई भस्म पार्यो।
[19] होरेबमा तिनीहरूले एउटा बाछा बनाए; र धातुको त्यस मूर्तिलाई आराधना गरे।
[20] यसरी तिनीहरूले परमेश्वरलाई दिने आफ्ना महिमा घाँस खाने साँढेको मूर्तिसँग साटे।
[21] तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो;
[22] जसले हामको देशमा अचम्मका कामहरू, र लाल समुद्रको किनारमा अद्भुत कार्यहरू गर्नुभएको थियो।
[23] यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुभयो। तर उहाँका चुनिएका जन मोशा तिनीहरूलाई नाश पार्ने उहाँको क्रोध हटाउनलाई उहाँको सामु खडा भए।
[24] तब तिनीहरूले त्यो आनन्दको देशलाई तुच्छ ठाने; उहाँका प्रतिज्ञामा तिनीहरूले विश्वास गरेनन्।
[25] तिनीहरूले आफ्ना पालहरूमा गनगन गरे; र याहवेहमा आज्ञाकारी भएनन्।
[26] यसकारण तिनीहरूलाई उजाडस्थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो,
[27] तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपस्ट पार्छु, र तिनीहरूलाई देश-विदेशभरि तितरबितर पार्छु भन्नुभयो।
[28] तिनीहरूले पोर भन्ने ठाउँको बाल-देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढाइएका बलिका थोकहरू खाए।
[29] तिनीहरूले आफ्ना दुष्ट कामहरूद्वारा याहवेहलाई क्रोधित तुल्याए; अनि तिनीहरूका बीचमा महामारी फैलियो।
[30] तर पीनहासले साहसका साथ हस्तक्षेप गरे; र महामारी थामियो।
[31] यो तिनको निम्ति अनन्त पुस्ताहरूको लागि धार्मिकताझैँ गनियो।
[32] मेरीबाका पानीको नजिक पनि तिनीहरूले याहवेहलाई क्रोधित तुल्याए; र तिनीहरूले गर्दा मोशामाथि सङ्कट आयो;
[33] किनकि तिनीहरू परमेश्वरका आत्माको विरुद्धमा बागी भए; र मोशाको मुखबाट अनर्थका कुराहरू निस्के।
[34] याहवेहले आज्ञा गर्नुभएअनुसार तिनीहरूले वरपरका जातिहरूलाई नष्ट गरेनन्,
[35] बरु तिनीहरू ती जातिहरूसित नै घुलमिल भए, र तिनीहरूका रीतिरिवाज अपनाए।
[36] तिनीहरूले उनीहरूका मूर्तिहरूलाई आराधना गरे, जुन तिनीहरूका निम्ति पासो बन्न पुगे।
[37] तिनीहरूले दुष्ट आत्माहरूका निम्ति आफ्ना छोराछोरीहरूलाई बलि चढाए।
[38] तिनीहरूले निर्दोषको रगत, अर्थात् आफ्नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनान देशका मूर्तिहरूका निम्ति बलि चढाए; र तिनीहरूको रगतले धर्ती अपवित्र भयो।
[39] तिनीहरूका आफ्नै दुष्ट कामहरूले आफूलाई अशुद्ध पारे; आफ्नै कामहरूद्वारा तिनीहरू व्यभिचारी भए।
[40] त्यसकारण याहवेह आफ्ना मानिसहरूसित रिसाउनुभयो, र उहाँले आफ्ना उत्तराधिकारीहरूलाई अति घृणा गर्नुभयो।
[41] उहाँले तिनीहरूलाई अन्य राष्ट्रहरूका हातमा सुम्पिदिनुभयो; र तिनीहरूका वैरीहरूले तिनीहरूमाथि शासन गरे।
[42] तिनीहरूका शत्रुहरूले तिनीहरूलाई दमन गरे, र तिनीहरूलाई आफ्ना शक्तिको वशमा पारे।
[43] धेरै पटक उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरूले विद्रोह नै गर्न रुचाए, र तिनीहरू आफ्ना पापका कारण पतन हुँदैगए।
[44] तापनि उहाँले तिनीहरूको पुकार सुन्नुभयो, र तिनीहरूका कष्टमा टिठ्याउनुभयो;
[45] तिनीहरूको खातिर उहाँले आफ्नो करार स्मरण गर्नुभयो, र आफ्नो अचुक प्रेममा दयालु हुनुभयो।
[46] तिनीहरूलाई कैद गर्नेहरू सबैलाई तिनीहरूप्रति दया देखाउने बनाउनुभयो।
[47] हे याहवेह हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस्, र जाति-जातिहरूबाट हामीलाई एकत्र गर्नुहोस्! ताकि हामी तपाईंको पवित्र नाममा धन्यवाद चढाउन सकौँ, र तपाईंको प्रशंसा गर्दै महिमा दिन सकौँ!
[48] याहवेह इस्राएलका परमेश्वरको प्रशंसा, अनादिदेखि अनन्तसम्मै भइरहोस्! सबै मानिसहरूले भनून् “आमेन!” याहवेहको प्रशंसा गर!