Skip to content
Opens in a new window
Listen to this chapter • 4:23

[1] हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु।

[2] म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु; हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा म स्तुति गाउनेछु।

[3] मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्; तपाईंका सामु तिनीहरूले ठेस खान्छन् र नष्‍ट हुन्छन्।

[4] किनकि तपाईंले न्याय गर्नुभयो र मेरो पक्षमा निर्णय गरिदिनुभएको छ, सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ।

[5] तपाईंले जाति-जातिहरूलाई हप्काउनुभएको छ; र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ; तपाईंले तिनीहरूका नाम सधैँको निम्ति मेटिदिनुभएको छ।

[6] मेरा शत्रुहरूमाथि अनन्त विनाश आइपरेको छ, तपाईंले तिनीहरूका सहरहरू ध्वस्त पारिदिनुभएको छ; तिनीहरूको सम्झना नै मेटिएको छ।

[7] याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ; उहाँले आफ्नो सिंहासन न्यायको निम्ति स्थापित गर्नुभएको छ।

[8] उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ; उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ।

[9] याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्‍टको समयमा उहाँ किल्‍ला हुनुहुन्छ।

[10] तपाईंका नाम जान्‍नेहरूले तपाईंमा भरोसा राख्दछन्, किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।

[11] सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ; जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर।

[12] किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ; उहाँले सङ्कष्‍टमा परेकाहरूको पुकारलाई बेवास्ता गर्नुहुन्‍न।

[13] हे याहवेह, हेर्नुहोस्, कसरी मलाई मेरा शत्रुहरूले खेदो गर्छन्। ममाथि कृपा गर्नुहोस् र मलाई मृत्युको मुखबाट छुटाउनुहोस्;

[14] ताकि सियोनकी छोरीका ढोकाहरूमा म तपाईंको प्रशंसाको घोषणा गर्न सकूँ र त्यहाँ तपाईंले गर्नुभएको मुक्तिमा म रमाउन सकूँ।

[15] राष्ट्रहरू आफूले खनेका खाडलमा आफैँ जाकिएका छन्; तिनीहरूले लुकाइराखेका जालमा तिनीहरूका आफ्नै पाउ परेका छन्।

[16] याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ; तिनीहरूका हातका कामद्वारा दुष्‍टहरू जालमा पर्दछन्। हिग्गियोन। सेला

[17] दुष्‍टहरूचाहिँ मृत्युको पातालमै फर्केर जानेछन्, सबै राष्ट्रहरू जसले परमेश्‍वरलाई बिर्सन्छन्।

[18] तर परमेश्‍वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन; पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन।

[19] हे याहवेह, तपाईं उठ्नुहोस्, नाशवान् मानिस विजयी हुन नपाओस्; तपाईंको उपस्थितिमा जाति-जातिहरूको न्याय गरियोस्।

[20] हे याहवेह, तिनीहरूमाथि त्रास खन्याउनुहोस्; तिनीहरू त नाशवान् मानिस मात्र हुन् भनी राष्ट्रहरूले जानून्। सेला

भजनसंग्रह — Chapters