Skip to content
Opens in a new window
Listen to this chapter • 3:37

[1] मैले सहायताको निम्ति परमेश्‍वरलाई पुकारेँ, मलाई सुन्‍नुभएको होस् भनेर मैले परमेश्‍वरलाई पुकारेँ।

[2] जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ; रातमा नथाकी उहाँमा मैले हात पसारेँ, तर मेरो हृदयले सान्त्वना पाएन।

[3] हे परमेश्‍वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ; मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला

[4] तपाईंले मेरा आँखा चिम्‍लन दिनुभएन; म बोल्न नसक्ने गरी अति दुःखित थिएँ।

[5] मैले बितेका दिनहरूको सम्झना गरेँ, धेरै अगाडिका वर्षहरू;

[6] रातका मेरा गीतहरू सम्झेँ। मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्‍यो:

[7] “के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन?

[8] के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्?

[9] के परमेश्‍वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्‍टि रोक्नुभएको हो?” सेला

[10] तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्‍च परमेश्‍वरको दाहिने बाहुली परिवर्तन भएको छ।”

[11] म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु।

[12] म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।

[13] हे परमेश्‍वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्‍वरझैँ अरू देव को छ र?

[14] तपाईं अचम्मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ; तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ।

[15] तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई, याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला

[16] हे परमेश्‍वर, समुद्रले तपाईंलाई देख्यो, सागरले तपाईंलाई देख्यो र डरायो; गहिरो महासागर डराएर काम्यो।

[17] बादलहरूले झरी बर्साए, आकाशमा चट्याङ गुन्ज्यो; तपाईंको बिजुली काँडहरू चारैतिर चम्के।

[18] तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो; तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो; पृथ्वी काम्यो र भुइँचालो गयो।

[19] तपाईंको मार्गले समुद्र भएर डोर्‍यायो; तपाईंको बाटो महासागरको बीचमा थियो, यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्।

[20] तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै मोशा र हारूनका हातद्वारा डोर्‍याउनुभयो।

भजनसंग्रह — Chapters