[1] हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्; मेरो बिन्तीलाई बेवास्ता नगर्नुहोस्!
[2] मलाई सुन्नुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मन धेरै दुःखित छ, र म व्याकुल भएको छु,
[3] मेरा शत्रुहरूको आवाजको कारणले, दुष्टहरूका धम्कीले गर्दा। किनकि तिनीहरूले ममाथि कष्ट ल्याएका छन्, र तिनीहरूका क्रोधमा मलाई सताउने गर्दछन्।
[4] मेरो हृदय मभित्र धेरै पीडामा छ; मृत्युको त्रास ममा परेको छ।
[5] डर र कम्पनले मलाई डुबाएको छ; त्रासले मलाई व्याकुल बनाएको छ।
[6] मैले भनेँ, “ओह, ढुकुरको जस्तै मेरा पखेटा भए त! म उडेर टाढा जानेथिएँ, र विश्राम लिनेथिएँ।
[7] म उडेर धेरै टाढासम्म जानेथिएँ, र मरुभूमिमा बस्नेथिएँ। सेला
[8] डरलाग्दा आँधीबेहरी र हुरीबाट धेरै टाढा, मेरो शरणस्थानतिर आतुरीसाथ जानेथिएँ।”
[9] हे प्रभु, दुष्टहरूलाई खलबल्याइदिनुहोस्; तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्; किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु।
[10] तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्; त्यस सहरभित्र दुष्टता र उपद्रव छन्।
[11] सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्; त्यसका गल्लीहरूलाई धम्की र झूटले कहिल्यै छोड्दैन।
[12] यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए, म त्यो सहन सक्नेथिएँ; यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए, म लुक्न सक्नेथिएँ।
[13] तर त्यो त मजस्तै मानिस, तँ नै होस्, मेरो सहकर्मी, मेरो घनिष्ठ साथी,
[14] जससँग मेरो एक समय मिठो सम्बन्ध थियो; मानिसहरूको भीडमा, हामी एकसाथ हिँड्थ्यौँ, परमेश्वरको भवनमा सँगै जान्थ्यौँ।
[15] मेरा शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्; तिनीहरू चिहानमा जीवितै जाऊन्; किनकि तिनीहरूका बीच दुष्टताले बास गर्दछ।
[16] तर मचाहिँ परमेश्वरलाई पुकार्छु; र याहवेहले मलाई बचाउनुहुन्छ।
[17] साँझ, बिहान र दिउँसो दुःख-कष्टमा म उहाँलाई पुकार्छु, र उहाँले मेरो सोर सुन्नुहुन्छ।
[18] विरोधीहरूका विरुद्धमा लडिरहेको युद्धबाट उहाँले मलाई विनाचोट बचाउनुहुन्छ, यद्यपि मेरो विरुद्धमा धेरै विरोधीहरू छन्।
[19] परमेश्वर, जो सनातनदेखि सिंहासनमा विराजमान हुनुहुन्छ, जो कहिल्यै पनि बदलिनुहुन्न, उहाँले तिनीहरूलाई सुन्नुहुनेछ र तिनीहरूलाई नम्र तुल्याउनुहुनेछ; किनकि तिनीहरूले परमेश्वरको डर मान्दैनन्।
[20] मेरा सहकर्मीले उसका आफ्नै मित्रहरूलाई आक्रमण गर्छ; उसले आफ्नो प्रतिज्ञा भङ्ग गर्छ।
[21] उसको मुखको बोली घिउजस्तै चिप्लो छ, तर उसको हृदयमा युद्ध हुन्छ; उसका कुराहरू तेलभन्दा चिप्ला छन्, तर ती नाङ्गा तरवारहरू हुन्।
[22] आफ्नो बोझ याहवेहमा राख; र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले कहिल्यै धर्मीहरूलाई हार्न दिनुहुनेछैन।
[23] तर हे परमेश्वर, तपाईंले दुष्टहरूलाई विनाशको खाडलमा खसाल्नुहुनेछ; हत्यारा र छली मानिसहरू तिनीहरूका आयुको अवधिको आधा समयसम्म पनि बाँच्नेछैनन्। तर मचाहिँ तपाईंमा भरोसा राख्दछु।