[1] हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।
[2] हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।
[3] सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—
[4] तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ; हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”
[5] याहवेह भन्नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”
[6] याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
[7] हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,
[8] जब मानिसहरूका बीचमा दुष्टताको सम्मान हुन्छ; दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्।