Skip to content
Opens in a new window
Listen to this chapter • 3:22

[1] याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ; मैले कसको भय मान्‍नु? याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ; म कोसँग भयभीत हुनु?

[2] जब दुष्‍टहरू मलाई आक्रमण गर्न मेरो विरुद्धमा अगि बढ्छन्, जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्; तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।

[3] सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैनँ; मेरो विरुद्धमा लडाइँ चले तापनि त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु।

[4] याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।

[5] किनकि सङ्कष्‍टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्‍च राख्नुहुनेछ।

[6] तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ; उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु; म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।

[7] हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।

[8] मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।

[9] मबाट तपाईंको मुहार नलुकाउनुहोस्; तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्; तपाईं मेरा सहायक हुनुभएको छ। हे परमेश्‍वर, मेरा मुक्तिदाता, मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।

[10] मेरा बुबाआमाले मलाई त्यागे तापनि याहवेहले मलाई सम्हाल्नुहुनेछ।

[11] हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्; र मलाई अत्याचार गर्ने मानिसहरूको कारण, मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।

[12] मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्; किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्, तिनीहरू खराब आरोप लगाउँछन्।

[13] म यसमा अझ विश्‍वस्त छु: म जीवितहरूको देशमा याहवेहको भलाइ देख्नेछु।

[14] याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।

भजनसंग्रह — Chapters