[1] याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; सारा पृथ्वीले याहवेहको निम्ति गाओ!
[2] याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर; प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर!
[3] जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
[4] किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।
[5] किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्, तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।
[6] उहाँको सामु गौरव र वैभव छन्; उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्।
[7] हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ!
[8] याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ!
[9] उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर; हे सारा पृथ्वी, उहाँको सामु थरथर काम।
[10] जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।” संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन; उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।
[11] आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्; समुद्र र त्यसमा भएका सबै हर्षले गुञ्जायमान होऊन्!
[12] खेत र त्यसमा भएका सबै कुरा उल्लासित होऊन्; जङ्गलका सारा रूखहरू आनन्दले गाऊन्।
[13] सबै सृष्टिले याहवेहको सामु गाऊन्, किनकि उहाँ आउनुहुन्छ; उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र आफ्नो विश्वसतासाथ मानिसहरूको न्याय गर्नुहुनेछ।