Skip to content
Opens in a new window
Listen to this chapter • 6:58

[1] हे परमेश्‍वर, मलाई बचाउनुहोस्; किनकि पानी मेरो घाँटीसम्म आइसकेको छ।

[2] म गहिरो दलदलमा डुब्दैछु, जहाँ उभिने ठाउँ नै छैन। म गहिरो पानीमा डुबेको छु; बाढीहरू ममाथि उर्लन्छन्।

[3] सहायताको लागि पुकार गर्दा-गर्दा म थाकिसकेको छु; मेरो घाँटी सुकेको छ। मेरा परमेश्‍वरको खोजी गर्दा-गर्दा मेरा आँखाहरू कमजोर भएका छन्।

[4] कारणविना मलाई घृणा गर्नेहरू मेरो टाउकोका केशभन्दा धेरै छन्; कारणविना मेरा शत्रुहरू धेरै छन्, जसले मलाई मार्न खोजिहिँड्छन्। जुन कुरा मैले चोरेकै छैनँ, मलाई त्यसको भरपाई गर्न बाध्य तुल्याइएको छु।

[5] हे परमेश्‍वर, तपाईं मेरो मूर्खता जान्‍नुहुन्छ; मेरा दोषहरू तपाईंबाट लुकेका छैनन्।

[6] हे प्रभु, सेनाहरूका याहवेह, तपाईंमा आशा राख्नेहरू मेरो कारणले शर्ममा नपरून्; हे इस्राएलका परमेश्‍वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले लाजमा नपरून्।

[7] किनकि तपाईंको खातिर मैले तिरस्कार सहेको छु; मेरो अनुहार लाजले ढाकेको छ।

[8] मेरा आफन्तका बीचमा म विदेशी भएको छु, मेरा साक्खै दाजुभाइ-दिदीबहिनीहरूका बीच म बिरानो भएको छु;

[9] किनकि तपाईंको घरप्रतिको जोशले मलाई खाएको छ, र तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि आइपरेको छ।

[10] जब म रुन्छु, र उपवास बस्छु, मैले अपमान सहनैपर्छ;

[11] जब म भाङ्ग्रा लगाउँछु, मानिसहरू मेरो हाँसो गर्दछन्।

[12] सहरको मूलढोकामा बस्‍ने मानिसहरूले मेरो ठट्टा उडाउँछन्; अनि म मतवालाहरूको गीत बनेको छु।

[13] तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा, म तपाईंलाई प्रार्थना गर्दछु; हे परमेश्‍वर, तपाईंको अचुक प्रेममा, तपाईंको निश्‍चित छुटकाराले मलाई उत्तर दिनुहोस्।

[14] मलाई दलदले हिलोबाट बचाउनुहोस्! मलाई डुब्न नदिनुहोस्, घृणा गर्नेहरूबाट, गहिरो पानीबाट मलाई बचाउनुहोस्!

[15] मलाई पानीको बाढीले नछोपोस् वा पानीको गहिराइले मलाई ननिलोस्, वा चिहानको मुख ममाथि बन्द नहोस्!

[16] हे याहवेह, तपाईंको अचुक प्रेमको उत्तमतामा मलाई जवाफ दिनुहोस्; तपाईंको महान् कृपामा मतिर फर्कनुहोस्।

[17] तपाईंको सेवकबाट आफ्नो मुहार नलुकाउनुहोस्; मलाई चाँडै जवाफ दिनुहोस्, किनकि म सङ्कटमा परेको छु।

[18] मेरो नजिक आएर मेरो उद्धार गर्नुहोस्; मेरा शत्रुहरूका कारण मलाई छुटाउनुहोस्!

[19] म अपमानित भएको, म शर्ममा परेको, र मेरो बेइज्जत भएको तपाईंलाई थाहा छ; मेरा सबै शत्रुहरू तपाईंकै सामु छन्।

[20] अपमानले गर्दा मेरो मन टुटेको छ; र म निरीह भएको छु; मलाई सहानुभूति देखाउने कोही छन् कि भनेर खोजी गरेँ, तर कोही थिएनन्; र सान्त्वना दिनेहरू पनि खोजेँ, तर कोही भेटिनँ।

[21] मेरो खानामा तिनीहरूले पित्त हाले, म तिर्खाउँदा सिर्का पिउन दिए।

[22] तिनीहरूका अगि राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्; र तिनीहरूका समृद्धि नै तिनीहरूको पासो बनोस्!

[23] तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्; तिनीहरूका ढाड सदा कुप्रिरहून्!

[24] तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्; तपाईंको रिसको आगो तिनीहरूमाथि आइपरोस्!

[25] तिनीहरूको स्थान उजाड भइजाओस्; तिनीहरूका पालहरूमा बास गर्ने कोही नहोस्।

[26] किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्, र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्।

[27] तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्; र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्।

[28] जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्, र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्।

[29] तर म त दुःखित र पीडित छु— हे परमेश्‍वर, तपाईंको मुक्तिले मलाई सुरक्षा गरोस्!

[30] गीत गाएर म परमेश्‍वरको नामको प्रशंसा गर्नेछु, र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु।

[31] यस कुराले याहवेहलाई साँढेको बलिभन्दा बढी सिङ र खुर भएको बहरको बलिले भन्दा बढी प्रसन्‍न पार्नेछ।

[32] थिचोमिचोमा परेकाहरू यो कुरा देखेर रमाउनेछन्— हे परमेश्‍वरलाई खोज्नेहरू हो, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्।

[33] याहवेहले अभावमा परेकाहरूको पुकार सुन्‍नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई अवहेलना गर्नुहुन्‍न।

[34] स्वर्ग, पृथ्वी, समुद्र र तिनमा हिँड्‍डुल गर्ने सारा सृष्‍टिले परमेश्‍वरको प्रशंसा गरून्!

[35] किनकि परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई पुनर्निर्माण गर्नुहुनेछ। तब उहाँका मानिसहरू त्यहाँ बस्‍नेछन्, र त्यसमाथि कब्जा गर्नेछन्;

[36] उहाँका सेवकहरूका सन्तानहरू त्यहाँ उत्तराधिकार हुनेछन्; अनि उहाँको नामलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।

भजनसंग्रह — Chapters