[1] यहूदामा परमेश्वर प्रसिद्ध हुनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ।
[2] उहाँको पाल शालेममा छ, उहाँको वासस्थान सियोनमा छ।
[3] त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो, ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला
[4] तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ, र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ।
[5] साहसी मानिसहरू लुटिएका छन्; तिनीहरू गहिरो निद्रामा परेका छन्; एउटै पनि शूरवीरले आफ्नो हात उचाल्न सक्दैन।
[6] हे याकोबका परमेश्वर, तपाईंको हप्काइमा घोडा र रथ दुवै चीर निद्रामा परेका छन्।
[7] तपाईं मात्र भययोग्य हुनुहुन्छ; तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र?
[8] स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो; र पृथ्वी डरायो र चुपचाप भयो—
[9] हे परमेश्वर, जब तपाईं पृथ्वीमा पीडितहरू सबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला
[10] निश्चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ; र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्।
[11] तिमीहरूका परमेश्वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर; उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू सबैले भेटी ल्याऊन्।
[12] उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ; पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्।