[1] हे सबै जाति-जातिहरू हो, यो सुन; हे संसारका बासिन्दाहरू हो, सुन;
[2] साना र ठूला दुवै, धनी र गरिब सबै ध्यान देओ:
[3] मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ; मेरो हृदयका चिन्तनले समझशक्ति प्रदान गर्नेछ।
[4] म हितोपदेशमा ध्यान लगाउनेछु; वीणा बजाएर उखानको अर्थ खोल्नेछु।
[5] दुष्ट छलीहरूले मलाई घेर्दा, दुःखका दिनहरू आउँदा म किन डराउने,
[6] तिनीहरू, जसले आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्, र आफ्नो ठूलो धनसम्पत्तिको घमण्ड गर्छन्।
[7] कुनै पनि मानिसले कसैको प्राणको उद्धार गर्न सक्दैन, न त परमेश्वरलाई आफ्नो जीवनको लागि मोल नै दिन सक्छ।
[8] जीवनको मूल्य धेरै मूल्यवान् हुन्छ; कसैको धनले तिरेर कहिल्यै पुग्दैन।
[9] कोही पनि यस्तो मानिस छैन, जो सधैँ जीवित रहन्छ, र कहिल्यै कुहुनुपर्दैन।
[10] किनकि सबैलाई थाहा छ, बुद्धिमान् मानिसहरू मर्छन्; मूर्ख र विवेकहीन मानिसहरू पनि मर्छन्, तिनीहरूका धनसम्पत्ति अरूहरूका लागि छोड्छन्।
[11] तिनीहरूको निम्ति चिहान नै सदासर्वदाको घर हुन्छ; पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नो जमिन आफ्नै नाममा राखेका थिए।
[12] मानिसहरू महान् भए तापनि सधैँभरि जीवित रहन सक्दैनन्; तिनीहरू नष्ट हुने पशुजस्तै छन्।
[13] आफूमाथि भर पर्ने ती सबैको गति यस्तै हुन्छ, र तिनीहरूको कुराहरूलाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला
[14] भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ; मृत्यु तिनीहरूको गोठालो हुनेछ (तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)। तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ; तिनीहरूका राजकीय महलदेखि टाढा।
[15] तर परमेश्वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ; निश्चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ।
[16] नडराओ, जब अरू कोही धनी हुन्छन्, जब तिनीहरूको घरको गौरव बढ्छ;
[17] किनकि तिनीहरू मरेर जाँदा तिनीहरूले आफूसँग केही पनि लैजान सक्दैनन्; तिनीहरूको गौरव तिनीहरूसँग चिहानमा जाँदैन।
[18] तिनीहरूले जीवित हुँदा आफूलाई धन्यको ठाने तापनि— र तिम्रो उन्नति हुँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
[19] तिनीहरू पहिल्यै मरेका आफ्ना पितापुर्खाहरूका पुस्ताकहाँ मिल्न जानेछन्; जसले जीवनको ज्योति फेरि कहिल्यै देख्नेछैनन्।
[20] जोसँग धनसम्पत्ति छ, तर समझशक्ति छैन भने ती मानिसहरू नष्ट हुने पशुजस्तै हुन्।