[1] मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ; असल काम गर्ने कोही पनि छैन।
[2] परमेश्वरले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ यो जान्नलाई कि कोही त समझदार होला, जसले परमेश्वरको खोजी गर्दछ?
[3] तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्; असल गर्ने कोही छैन, एक जना पनि छैन।
[4] के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले परमेश्वरलाई कहिल्यै पुकार्दैनन्।
[5] तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन, त्यहीँ नै तिनीहरू डरले व्याकुल भए। परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ; तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ; किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
[6] अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब परमेश्वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।