[1] हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ? तपाईं सङ्कष्टको समयमा किन आफूलाई लुकाउनुहुन्छ?
[2] दुष्टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्। तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्।
[3] तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्; लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्।
[4] दुष्टहरूले आफ्नो घमण्डमा परमेश्वरको खोजी गर्दैनन्; तिनीहरूका सारा विचारहरूमा परमेश्वरको लागि कुनै स्थान हुँदैन।
[5] दुष्टहरूका योजनाहरू सधैँ सफल हुन्छन्; तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्; तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्।
[6] तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्लाउन सक्नेछैन।” तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।”
[7] तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्; तिनीहरूका जिब्रोमा दुष्टता र गलत कुरा हुन्छन्।
[8] तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्; पर्खेर निर्दोषहरूको हत्या गर्दछन्। तिनीहरूका आँखा असहायहरूलाई गुप्त स्थानहरूमा खोजिरहन्छ।
[9] तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्; असहायहरूलाई पक्रनलाई ढुकेर बस्छन्; असहायहरूलाई पक्रन्छन् र आफ्नो पासोमा पारेर घिसार्दै लैजान्छन्।
[10] तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्, दुष्टहरूका शक्तिमुनि उनीहरू लडिहाल्छन्।
[11] तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्वरले बिर्सनुभएको छ; उहाँले आफ्नो मुहार ढाक्नुभएको छ, र उहाँले कहिल्यै देख्नुहुन्न।”
[12] हे याहवेह, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्। असहायहरूलाई नबिर्सनुहोस्।
[13] किन दुष्टहरूले परमेश्वरको विरोध गर्छन्? तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्, “उहाँले हाम्रो लेखा लिनुहुनेछैन?”
[14] तर हे परमेश्वर, तपाईं दुःखीहरूका सङ्कष्ट देख्नुहुन्छ; तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ। दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्; तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ।
[15] दुष्ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्; दुष्ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्, ताकि तिनीहरूमा फेरि दुष्टता नभेट्टाइयोस्।
[16] याहवेह सदासर्वदाको निम्ति राजा हुनुहुन्छ; उहाँको देशबाट जाति-जातिहरू नष्ट हुनेछन्।
[17] हे याहवेह, तपाईंले कष्टमा परेकाहरूको इच्छा बुझ्नुहुन्छ; तपाईं तिनीहरूका पुकार सुन्नुहुन्छ र तिनीहरूलाई उत्साह दिनुहुन्छ।
[18] तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ, ताकि मरणशील मानिसले फेरि कसैमाथि आतङ्क नमच्चाओस्।