[1] परमेश्वरका लागि, आनन्दले गाओ, जो हाम्रो बल हुनुहुन्छ; उच्च सोरले याकोबका परमेश्वरको जयजयकार गर!
[2] सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ, मधुर सितार र वीणा बजाओ!
[3] औँसी र पूर्णिमाको रातमा हुने, हाम्रो चाडमा भेडाको सिङबाट बनेको तुरही बजाओ।
[4] इस्राएलको निम्ति यो एउटा आदेश हो, याकोबका परमेश्वरको यो एउटा विधि हो।
[5] जब परमेश्वर इजिप्टको विरुद्ध उठ्नुभयो, उहाँले योसेफको निम्ति यो एउटा कानुनको रूपमा स्थापित गर्नुभयो। मैले एउटा अज्ञात आवाजले यसो भनेको सुनेँ:
[6] “मैले तिनीहरूका काँधबाट बोझ हटाइदिएँ; डोकाको बोझबाट तिनीहरूका हात मुक्त भए।
[7] दुःखमा पर्दा तिमीहरूले पुकार्यौ, र मैले तिमीहरूलाई छुटाएँ; मैले मेघ गर्जनबाट तिमीहरूलाई उत्तर दिएँ; मैले मेरीबाका पानीमा तिमीहरूलाई परीक्षा गरेँ। सेला
[8] हे मेरा प्रजा सुन, म तिमीहरूलाई चेतावनी दिनेछु— हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको भए त!
[9] तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन; तिमीहरूले मबाहेक कुनै देवतालाई दण्डवत् गर्नुहुँदैन।
[10] म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, तिमीहरूका मुख पूरा खोल, र म त्यो भरिदिनेछु।
[11] “तर मेरा प्रजाले मैले भनेको सुन्दैनन्; इस्राएलले मेरो अधीनमा रहन मान्दैनन्।
[12] यसकारण तिनीहरू आफ्नै युक्तिमा हिँडून् भनी मैले तिनीहरूलाई तिनीहरूकै हृदयको जिद्दीमा छोडिदिएँ।
[13] “मेरा प्रजाले मेरा कुरा सुनेका भए त, इस्राएल मेरो मार्गमा हिँडेको भए त,
[14] म कति चाँडो तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका दुश्मनहरूका विरुद्धमा मेरो हात उठाउनेथिएँ!
[15] याहवेहलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्चिँदै लत्रक्क पर्नेथिए, र उनीहरूको दण्ड सदाकाल रहनेथियो।
[16] तर तिमीहरूलाई सबैभन्दा सर्वोत्तम गहुँ खुवाउनेथिएँ; र चट्टानमा बनेको महले म तिमीहरूलाई तृप्त पार्नेथिएँ।”