Skip to content
Opens in a new window
Listen to this chapter • 9:44

[1] म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु; म मेरो मुखले पुस्तौँ-पुस्तालाई तपाईंको विश्‍वासयोग्यता बताइरहनेछु।

[2] तपाईंको अचुक प्रेम सदाको निम्ति दृढ रहिरहनेछ; स्वर्गमा पनि तपाईंले आफ्नो विश्‍वासयोग्यता स्थापित गर्नुभएको छ भनी म घोषणा गर्नेछु।

[3] तपाईंले भन्‍नुभयो, “मैले आफ्नो चुनेको मानिससित करार बाँधेको छु; मैले आफ्नो सेवक दावीदसित यो शपथ खाएको छु,

[4] ‘म तेरो वंशलाई सदाको निम्ति स्थापित गर्नेछु, र पुस्तौँ-पुस्तासम्म म तेरो सिंहासन स्थिर बनाउनेछु।’ ” सेला

[5] हे याहवेह, स्वर्गले तपाईंको अद्‌भुत कार्यहरूको प्रशंसा गर्दछ, पवित्र जनहरूको सभामा तपाईंको विश्‍वासयोग्यताको पनि गुणगान हुँदछ।

[6] किनकि सारा ब्रह्‍माण्डमा नै याहवेहको तुलना कोसँग गर्न सकिन्छ र? स्वर्गीय प्राणीहरूमध्ये को याहवेहको समान छन् र?

[7] पवित्र जनहरूको सभाघरमा परमेश्‍वर अधिक श्रद्धायोग्य हुनुहुन्छ; उहाँको वरिपरि हुनेहरूमध्ये, उहाँ अति भययोग्य हुनुहुन्छ।

[8] हे सेनाहरूका याहवेह परमेश्‍वर, तपाईंजस्तो अरू को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे याहवेह, तपाईंको विश्‍वासयोग्यता तपाईंको वरिपरि छ।

[9] उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ; त्यसका छालहरू उर्लंदा, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।

[10] तपाईंले मारिएकाहरूलाई झैँ राहाबलाई नष्‍ट पार्नुभयो; तपाईंले आफ्ना शत्रुहरूलाई आफ्ना पाखुराले तितरबितर पार्नुभयो।

[11] स्वर्गहरू तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो; संसार र त्यसमा भएका यावत् थोक तपाईंले नै स्थापित गर्नुभयो।

[12] उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो; तबोर र हेर्मोन तपाईंको नाममा हर्षले गाउँछन्।

[13] तपाईंको पाखुरा शक्तिशाली छ; तपाईंको हात बलियो छ, तपाईंको दाहिने हात उच्‍च छ।

[14] धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्; अचुक प्रेम र विश्‍वासयोग्यता तपाईंको अगि जान्छन्।

[15] हे याहवेह, ती मानिसहरू धन्य हुन्, जसले जयध्वनिसाथ तपाईंको प्रशंसा गर्न सिकेका छन्; जो तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्।

[16] तिनीहरू दिनभरि तपाईंको नाममा रमाउँछन्; तिनीहरूले तपाईंको धार्मिकताको उत्सव मनाउँछन्।

[17] किनकि तपाईं नै तिनीहरूका महिमा र बल हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सिङ उच्‍च पारिदिनुभएको छ।

[18] वास्तवमा याहवेह नै हाम्रो ढाल हुनुहुन्छ; हाम्रा राजा इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।

[19] तपाईंले एक पटक दर्शनमा बोल्नुभयो, आफ्ना विश्‍वासयोग्य जनहरूसित यसो भन्‍नुभयो: “मैले एक योद्धालाई बल प्रदान गरेको छु; मैले मानिसहरूबाट चुनिएको एक युवकलाई उच्‍च पारेको छु।

[20] मैले मेरो सेवक दावीदलाई भेट्टाएको छु; मैले आफ्नो पवित्र तेलले त्यसलाई अभिषेक गरेको छु।

[21] मेरो हातले त्यसलाई थाम्नेछ; निश्‍चय नै मेरो पाखुराले त्यसलाई बलियो बनाउनेछ।

[22] शत्रुले त्यसबाट तिरो असुल्ने छैन; कुनै दुष्‍ट मानिसले त्यसमाथि अत्याचार गर्नेछैन।

[23] त्यसका वैरीलाई म त्यसकै सामु चूर्ण पार्नेछु, अनि त्यसलाई घृणा गर्नेहरूलाई प्रहार गर्नेछु।

[24] मेरो विश्‍वासयोग्यता र अचुक प्रेम त्यससँग रहनेछ, र मेरो नामद्वारा त्यसको सिङ उच्‍च हुनेछ।

[25] म त्यसको हातलाई समुद्रमाथि, त्यसको दाहिने हातलाई नदीहरूमाथि स्थापित गराउनेछु।

[26] त्यसले मलाई यसो भनेर पुकार्नेछ, ‘तपाईं मेरा पिता, मेरा परमेश्‍वर, मेरो मुक्तिको चट्टान हुनुहुन्छ।’

[27] म त्यसलाई मेरो पहिले जन्मेको, जेठो छोरा हुन नियुक्त गर्नेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्‍च तुल्याउनेछु।

[28] म त्यसको निम्ति मेरो अचुक प्रेम सदासर्वदा कायम राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन।

[29] म त्यसको वंश सदाको निम्ति स्थापना गर्नेछु, आकाशको अस्तित्व रहेसम्म, त्यसको सिंहासन राख्नेछु।

[30] “त्यसका सन्तानले मेरो व्यवस्था त्यागे, र मेरा विधानहरू मानेनन् भने

[31] यदि तिनीहरूले मेरा उर्दीहरू भङ्ग गरे भने र मेरा आदेशहरू पालन गरेनन् भने,

[32] म तिनीहरूका पापको दण्ड छडीले, तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु;

[33] तर म मेरो अचुक प्रेम त्यसबाट हटाउनेछैनँ, न त कहिल्यै म मेरो विश्‍वासयोग्यतालाई घात गर्नेछु।

[34] म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखले उच्‍चारण गरेका वचन बदल्नेछैनँ।

[35] मैले मेरो पवित्रताद्वारा एक पटक सधैँको निम्ति शपथ खाएको छु— र म दावीदलाई ढाँट्नेछैनँ।

[36] त्यसको वंश सदासर्वदाको निम्ति रहनेछ र त्यसको सिंहासन मेरो अगि सूर्यझैँ स्थिर रहनेछ;

[37] आकाशमा रहेको विश्‍वासयोग्य साक्षी चन्द्रमाझैँ, त्यो सदासर्वदाको लागि स्थापित रहनेछ।” सेला

[38] तर तपाईंले आफ्नो अभिषिक्त जनलाई त्याग्नुभएको छ, र तुच्छ ठान्‍नुभएको छ; तिनीसँग तपाईं क्रोधित हुनुभएको छ।

[39] तपाईंले आफ्नो सेवकसितको करार रद्द गर्नुभएको छ; तपाईंले तिनको मुकुट धुलोमा फ्याँकेर अशुद्ध पार्नुभएको छ।

[40] तपाईंले तिनका सबै सुरक्षित पर्खालहरू भत्काइदिनुभएको छ; र तिनका किल्‍लाहरू तहसनहस पारिदिनुभएको छ।

[41] त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्; आफ्ना छिमेकीको निम्ति तिनी हेलाको पात्र भएका छन्।

[42] तिनका वैरीहरूका दाहिने हात तपाईंले उच्‍च पार्नुभएको छ; तपाईंले तिनका सबै शत्रुहरूलाई आनन्दित तुल्याउनुभएको छ।

[43] तपाईंले तिनको तरवारको धारलाई काम नलाग्ने बनाउनुभएको छ, र युद्धमा तिनलाई समर्थन गर्नुभएको छैन।

[44] तपाईंले तिनको वैभव समाप्‍त गरिदिनुभएको छ, र तिनको सिंहासन जमिनमा पल्टाइदिनुभएको छ।

[45] तिनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ; तपाईंले तिनलाई लाजको वस्त्रले ढाकिदिनुभएको छ। सेला

[46] हे याहवेह, कहिलेसम्म यस्तो गर्नुहुन्छ? के तपाईं आफूलाई सधैँभरिको निम्ति लुकाइराख्नुहुनेछ? कहिलेसम्म तपाईंको क्रोध आगोझैँ दन्किरहनेछ?

[47] स्मरण गर्नुहोस्; मेरो आयु कति क्षणिक छ। किनकि तपाईंले सम्पूर्ण मानवतालाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ!

[48] यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ र मृत्यु देख्दैन, अथवा चिहानको शक्तिबाट को उम्कन सक्छ र? सेला

[49] हे प्रभु, तपाईंको अगिको अचुक प्रेम कहाँ छ? जसमा तपाईंले तपाईंको विश्‍वासयोग्यतामा दावीदसँग शपथ खानुभएको थियो?

[50] हे प्रभु, स्मरण गर्नुहोस्; तपाईंको सेवकको कसरी उपहास भएको छ, म आफ्नो हृदयमा कसरी सबै राष्ट्रहरूको हाँसो बोकेर हिँड्दछु,

[51] हे याहवेह, जसले मेरो उपहास गरेका छन्, ती तपाईंका शत्रुहरू हुन्, तिनीहरूले पाइला-पाइलामा कसरी तपाईंका अभिषिक्त जनको उपहास गरेका छन्।

[52] सदासर्वदा याहवेहको प्रशंसा होस्! आमेन! आमेन!

भजनसंग्रह — Chapters