Skip to content
Opens in a new window
Listen to this chapter • 2:02

[1] हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्; न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।

[2] हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु; हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।

[3] मेरो प्राण गहिरो वेदनामा छ; कहिलेसम्म, हे याहवेह, कहिलेसम्म?

[4] हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।

[5] मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्, चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र?

[6] मेरो पीडाले गर्दा म थाकिसकेको छु। रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ। र मेरो आँसुले सिरानी डुबाउँछ।

[7] मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्; मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।

[8] हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ।

[9] याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ; याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।

[10] मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्; तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।

भजनसंग्रह — Chapters