[1] हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ; तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ।
[2] तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ; तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ। सेला
[3] तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो; र आफ्नो दन्किँदो क्रोधबाट तपाईं फर्कनुभयो।
[4] हे हाम्रा मुक्तिदाता परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्नता हटाइदिनुहोस्!
[5] के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ? के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ?
[6] के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्न, ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्?
[7] हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!
[8] याहवेह परमेश्वरले जे भन्नुहुनेछ, त्यो म सुन्नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।
[9] निश्चय नै उहाँको भय मान्नेहरूको नजिकै उहाँको मुक्ति छ; ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्।
[10] अचुक प्रेम र विश्वासयोग्यता आपसमा मिल्छन्; धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्।
[11] पृथ्वीबाट विश्वासयोग्यताको अङ्कुर निस्कन्छ, र स्वर्गबाट धार्मिकताले तल हेर्दछ।
[12] जे असल छ, याहवेहले त्यही दिनुहुनेछ; र हाम्रा जमिनले फसल उमार्नेछ।
[13] धार्मिकता उहाँको अगि-अगि जानेछ र उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।