Skip to content
Opens in a new window
Listen to this chapter • 2:34

[1] हे सेनाहरूका याहवेह! तपाईंको वासस्थान कति मनोहर छ,

[2] याहवेहको मन्दिरका चोकहरूको निम्ति मेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ; मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्‍वरको पुकार गर्दछ।

[3] हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि घर पाउँछे, अनि गौँथलीले गुँड पाउँछे, जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे।

[4] तपाईंको वासस्थानमा बस्‍ने धन्यका हुन्; तिनीहरू सदा तपाईंको प्रशंसा गर्छन्। सेला

[5] तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ; जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।

[6] तिनीहरू बाकाको बेँसीबाट भएर जाँदा, तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्; शरद ऋतुको वर्षाले त्यहाँ आशिष् हुँदछ।

[7] तिनीहरूले बलमाथि बल प्राप्‍त गर्दै जान्छन्; जबसम्म प्रत्येक सियोनमा परमेश्‍वरको सामु उपस्थित हुँदैनन्।

[8] हे याहवेह सेनाहरूका परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; हे याकोबका परमेश्‍वर, मेरो बिन्ती सुन्‍नुहोस्! सेला

[9] हे परमेश्‍वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्; तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्‍टि गर्नुहोस्!

[10] तपाईंको मन्दिरको चोकमा एक दिन अरू ठाउँको हजार दिनभन्दा उत्तम छ; दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा त, बरु मेरा परमेश्‍वरको भवनको ढोके हुन मलाई मन पर्छ,

[11] किनकि याहवेह परमेश्‍वर सूर्य र ढाल हुनुहुन्छ; याहवेहले निगाह र इज्जत दिनुहुन्छ; सत्य मार्गमा हिँड्नेहरूलाई याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्‍न।

[12] हे सेनाहरूका याहवेह, तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।

भजनसंग्रह — Chapters