[1] हे याहवेह मेरो पुकारलाई सुन्नुहोस्, मेरो पुकार उचित छ; निष्कपट ओठहरूबाट निस्केका मेरो प्रार्थनामा कान लगाउनुहोस्।
[2] मेरो निर्दोषता तपाईंबाट ठहरिएको होस्; तपाईंका आँखाहरूले जे सही छ, त्यही देखून्।
[3] यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने, राति आएर मलाई जाँच गर्नुभए तापनि तपाईंले मभित्र केही पनि दुष्ट योजना भेट्टाउनुहुनेछैन; मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन।
[4] यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्; तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु।
[5] मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्; मेरा पाउहरू चिप्लेका छैनन्।
[6] हे परमेश्वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ; तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्नुहोस्।
[7] तपाईंको अचुक प्रेमको अद्भुत कार्यहरू देखाउनुहोस्; तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।
[8] मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्; तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्,
[9] मलाई नष्ट पार्न आइलाग्ने दुष्टहरूबाट, मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्।
[10] तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्, र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्।
[11] मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्; मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्।
[12] तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्, तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्।
[13] हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्; तिनीहरूलाई पराजित गरिदिनुहोस्; आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्।
[14] हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ, संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्। तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्टहरूको पेट भरिएको होस्; तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्, र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्।
[15] तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु; जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्ट हुनेछु।