Skip to content
Opens in a new window
Listen to this chapter • 2:36

[1] ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्; किनकि म तपाईंमा शरण लिन्छु। जबसम्म यो विपत्ति हट्दैन, तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु।

[2] म सर्वोच्‍च परमेश्‍वरलाई पुकार्छु, परमेश्‍वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ।

[3] उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ; मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, सेला परमेश्‍वरले आफ्नो अचुक प्रेम र विश्‍वसनीयता पठाउनुहुन्छ।

[4] म सिंहहरूको बीचमा छु; हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्‍न म बाध्य छु; जसका दाँतहरू धारिला तरवार र काँड हुन्, जसका जिब्रा धारिलो तरवारजस्तै छन्।

[5] हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!

[6] तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्; म सङ्कष्‍टले झुकेको छु। तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्, तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्। सेला

[7] हे परमेश्‍वर, मेरो हृदय स्थिर छ, मेरो हृदय स्थिर छ; म गाउनेछु र धुन बजाउनेछु।

[8] हे मेरो प्राण, उठ्! हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु।

[9] हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।

[10] किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्‍च छ; तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।

[11] हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!

भजनसंग्रह — Chapters