Skip to content
Opens in a new window
Listen to this chapter • 13:54

[1] हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन; मेरा मुखका वचनहरूतिर ध्यान लगाओ।

[2] म मेरो मुख दृष्‍टान्तमा बोल्नलाई खोल्नेछु; म प्राचीनका कुराहरूबाट गुप्‍त कुराहरू भन्‍नेछु—

[3] हामीले ती कुराहरू सुनेका र जानेका छौँ, जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्।

[4] हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ; हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू, उहाँको शक्ति र उहाँले गर्नुभएका अद्‌भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ।

[5] उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो;

[6] ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्, यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्, र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्।

[7] तब तिनीहरूले परमेश्‍वरमा आफ्ना भरोसा राख्नेछन्, र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्; तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्।

[8] तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्‍वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्‍वरप्रति विश्‍वासयोग्य थिएनन्।

[9] एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे;

[10] तिनीहरूले परमेश्‍वरका करार पालन गरेनन्, र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे।

[11] परमेश्‍वरले गर्नुभएका कामहरू, उहाँले तिनीहरूलाई देखाउनुभएको अद्‌भुत कार्यहरू, तिनीहरूले बिर्से।

[12] उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।

[13] उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्‍याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो।

[14] उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो।

[15] उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो;

[16] उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो, र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो।

[17] तर सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर, तिनीहरू उहाँको विरुद्धमा निरन्तर पापमा लागिरहे।

[18] तिनीहरूले असाध्यै खानेकुराको माग गरेर जानी-जानी परमेश्‍वरको परीक्षा गरे।

[19] तिनीहरूले यसो भन्दै परमेश्‍वरको निन्दा गरे: “के परमेश्‍वरले हाम्रो निम्ति मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र?

[20] हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो, र पानी फुटेर निस्क्यो, पानीका धारा प्रशस्त गरी बगेर निस्क्यो; तर के उहाँले हामीलाई खानेकुरा पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”

[21] जब याहवेहले तिनीहरूका कुरा सुन्‍नुभयो, उहाँ धेरै रिसाउनुभयो; याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो, र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो;

[22] किनकि तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे।

[23] तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो;

[24] उहाँले मानिसहरूका निम्ति खानलाई मन्‍न बर्साउनुभयो, उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो।

[25] मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्‍वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।

[26] उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो; र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो।

[27] उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो; उड्ने पक्षीहरूलाई समुद्री किनारका बालुवासरह बर्साइदिनुभयो।

[28] उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र, तिनीहरूका पालको वरिपरि झार्नुभयो।

[29] तिनीहरूले नघाउन्जेल खाए— उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेअनुसार दिनुभयो।

[30] तर तिनीहरूको भोक मेटिनु अगि नै, तिनीहरूले खाएका खाना तिनीहरूका मुखमा छँदै,

[31] परमेश्‍वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो; तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो, इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो।

[32] यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्‌भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्‍वास गरेनन्।

[33] यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो।

[34] जब परमेश्‍वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो; तब तिनीहरूले उहाँको खोजी गर्दै, फेरि पश्‍चात्ताप गर्दै उहाँतिर फर्के।

[35] परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्छ र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धारक हुनुहुँदोरहेछ भन्‍ने कुरा तिनीहरूले सम्झे।

[36] तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे, र तिनीहरूका जिब्रोले उहाँसित झूटो बोले;

[37] तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्, न त उहाँका करारप्रति तिनीहरू विश्‍वासयोग्य नै थिए।

[38] तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो; उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो र आफ्नो पूरा क्रोध पोख्नुभएन।

[39] उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो, जो हावाजस्तो बहन्छन् र फर्किआउँदैनन्।

[40] तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई उजाडस्थानमा दुःखित तुल्याए!

[41] तिनीहरूले घरी-घरी परमेश्‍वरलाई परीक्षा गरे; र इस्राएलका पवित्र परमेश्‍वरलाई उक्साए।

[42] तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्— जुन दिन उहाँले तिनीहरूलाई मोल तिरेर अत्याचारीबाट छुटकारा दिनुभएको थियो,

[43] जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू, र सोअनको मैदानमा अद्‌भुत कार्यहरू देखाउनुभयो।

[44] उहाँले तिनीहरूका नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो; तिनीहरूले खोलाहरूका पानीबाट पिउन सकेनन्।

[45] उहाँले तिनीहरूलाई नाश पार्नलाई झिँगाका हुलहरू पठाउनुभयो, र तिनीहरूलाई उजाड पार्नलाई भ्यागुताहरू पठाउनुभयो।

[46] उहाँले तिनीहरूका अन्‍नबालीहरू फट्याङ्ग्राहरूलाई, र तिनीहरूका खेतका उब्जनी सलहलाई दिनुभयो।

[47] उहाँले तिनीहरूका अङ्‌गुरका बोटहरू असिनाले र अञ्जीरका बोटहरू तुसारोले नष्‍ट पारिदिनुभयो।

[48] उहाँले तिनीहरूका गाईबस्तुहरूलाई असिनाले, र भेडाबाख्राहरूलाई चट्याङले प्रहार गर्नुभयो।

[49] उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस, क्रोध, आक्रोश र शत्रुता— विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।

[50] उहाँले आफ्नो क्रोधका लागि बाटो तयार पार्नुभयो; उहाँले तिनीहरूका प्राणलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो।

[51] उहाँले इजिप्टका सबै ज्येष्‍ठ सन्तानलाई, हामका पालहरूमा पुरुषत्वको रूपमा रहेका पहिलो फललाई मास्‍नुभयो।

[52] तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूका बथानलाई जस्तै निकालेर ल्याउनुभयो; उहाँले तिनीहरूलाई मरुभूमिमा भेडालाई जस्तै अगुवाइ गर्नुभयो।

[53] उहाँले तिनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो यसैले तिनीहरू डराएनन्; तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।

[54] यसरी परमेश्‍वरले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा ल्याउनुभयो, जुन पर्वत उहाँले आफ्नो दाहिने हातले जित्नुभएको थियो।

[55] उहाँले जाति-जातिहरूलाई तिनीहरूकै सामु लखेट्नुभयो, र उनीहरूका जमिन पैतृक सम्पत्तिझैँ इस्राएलीहरूलाई बाँडिदिनुभयो; र इस्राएलीहरूका कुललाई उनीहरूका घरमा बसाल्नुभयो।

[56] तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे र सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा विद्रोही भए; तिनीहरूले उहाँका विधि-विधानहरू पालन गरेनन्।

[57] तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्‍वासघाती, भर पर्न नसकिने बाङ्गो धनुजस्तै भए।

[58] तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए; तिनीहरूका मूर्तिहरूका कारण उहाँलाई डाही तुल्याए।

[59] जब परमेश्‍वरले तिनीहरूको सोर सुन्‍नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो; उहाँले इस्राएलीहरूलाई पूर्ण रूपमा इन्कार गर्नुभयो।

[60] उहाँले शीलोमा भएको पवित्रस्थानलाई त्याग्नुभयो, जुन पाल मानिसहरूका बीचमा उहाँले राख्नुभएको थियो।

[61] उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो, उहाँको महिमालाई शत्रुहरूका हातमा जान दिनुभयो।

[62] उहाँले आफ्ना मानिसहरूलाई तरवारले काटिन सुम्पिदिनुभयो; आफ्ना उत्तराधिकारसँग अत्यन्तै रिसाउनुभयो।

[63] आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए, र उनीहरूका कन्याहरूका निम्ति वैवाहिक गीत गाइएन;

[64] तिनीहरूका पुजारीहरू तरवारले मारिए, र तिनीहरूका विधवाहरूले विलाप गर्न पाएनन्।

[65] तब प्रभु निद्राबाट बिउँझिएझैँ जाग्नुभयो; र मद्यले मातेका लडाकुझैँ उहाँ बिउँझनुभयो।

[66] उहाँले आफ्ना शत्रुहरूलाई बदला लिनुभयो; उहाँले तिनीहरूलाई अनन्तको निम्ति लाजमा पार्नुभयो।

[67] तब उहाँले योसेफका पालहरूलाई त्याग्नुभयो, उहाँले एफ्राइमको वंशलाई छान्‍नुभएन;

[68] तर यहूदाका कुललाई छान्‍नुभयो, सियोन पर्वत, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो।

[69] यही ठाउँमा उहाँले आफ्नो पवित्रस्थान उच्‍च स्थानहरूझैँ बनाउनुभयो। उहाँले पृथ्वीलाईझैँ त्यस ठाउँलाई सदाको लागि स्थापित गर्नुभएको छ।

[70] उहाँले दावीदलाई आफ्नो सेवक चुन्‍नुभयो, र तिनलाई भेडीगोठबाट उठाउनुभयो;

[71] उहाँले भेडा गोठालोबाट, दावीदलाई याकोबका मानिसहरू र आफ्नो उत्तराधिकार इस्राएलीहरूको गोठालो हुनलाई ल्याउनुभयो।

[72] अनि दावीदले हृदयको इमानदारीतामा तिनीहरूको हेरचाह गरे; निपुणतासाथ तिनीहरूको अगुवाइ गरे।

भजनसंग्रह — Chapters