[1] परमेश्वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्; उहाँका वैरीहरू उहाँको सामुबाट भागून्।
[2] हावाले धुवाँलाई उडाए झैँ तपाईंले तिनीहरूलाई उडाइदिनुहोस्। आगोको अगि मैन बिलाइए झैँ, परमेश्वरको अगि दुष्टहरू नष्ट होऊन्।
[3] तर धर्मीहरूचाहिँ खुशी होऊन्; र परमेश्वरको अगि तिनीहरू रमाऊन्; तिनीहरू खुशी र आनन्दित होऊन्।
[4] परमेश्वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ; बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर; उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ।
[5] उहाँको पवित्र वासस्थानमा परमेश्वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।
[6] एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ; उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ; तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।
[7] हे परमेश्वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो, जब तपाईं मरुभूमिबाट भएर अगि बढ्नुभयो, सेला
[8] तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो; अद्वितीय परमेश्वरको सामु, जो सीनै पर्वतका परमेश्वर हुनुहुन्छ, परमेश्वरको सामु, जो इस्राएलका परमेश्वर हुनुहुन्छ।
[9] हे परमेश्वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो; तपाईंले सुक्खा भूमिलाई फेरि ताजा बनाउनुभयो।
[10] तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे; हे परमेश्वर, तपाईंको प्रशस्तताबाट निमुखाहरूलाई सबै कुरा जुटाउनुभयो।
[11] प्रभुले वचन घोषणा गर्नुहुन्छ; र त्यही वचनको घोषणा गर्ने स्त्रीहरूको समूह ठूलो छ:
[12] “राजा र सेनाहरू बेपत्ता गरी भाग्छन्; घरका स्त्रीहरूचाहिँ लुटका सामानहरू बाँड्छन्,
[13] जब तिमीहरू भेडाको खोरमा सुत्छौ, तब तिमीहरू ढुकुरका पखेटा चाँदी, र त्यसका प्वाँखहरू चम्किलो सुनले ढाकिएका जस्तै हुन्छौ।”
[14] जब सर्वशक्तिमान्ले राजाहरूलाई देशमा छरपस्ट पार्नुभयो, त्यो जल्मोन डाँडामा हिउँ परेजस्तै थियो।
[15] बाशानका पर्वतहरू, वैभवशाली पर्वतहरू, बाशानका पर्वतहरू, धेरै अग्ला पर्वतहरू,
[16] हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ, जुन पर्वतमा परमेश्वरले शासन गर्न रोज्नुभएको छ; जहाँ याहवेह स्वयम् सदासर्वदा बास गर्नुहुनेछ?
[17] परमेश्वरका रथहरू दसौँ हजार, र हजारौँ-हजार छन्; प्रभु सीनै पर्वतबाट उहाँको पवित्रस्थानमा आउनुभएको छ।
[18] जब तपाईं उच्चमा चढिजानुभयो, तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो; तपाईंले मानिसहरूबाट उपहार प्राप्त गर्नुभयो, विद्रोही मानिसहरूबाट समेत पाउनुभयो— ताकि तपाईं, याहवेह परमेश्वर, त्यहाँ बास गर्न सक्नुभएको होस्।
[19] परमेश्वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्, जसले हाम्रा दिनहुँको बोझहरू बोक्नुहुन्छ। सेला
[20] हाम्रा परमेश्वर हामीलाई बचाउने परमेश्वर हुनुहुन्छ; याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ।
[21] परमेश्वरले निश्चय नै उहाँका शत्रुहरूका शिर कुच्याउनुहुनेछ; ती मानिसहरू, जसका टाउको केशले भरिएको छ, जो आफ्ना पापमा लागिरहन्छन्।
[22] प्रभु भन्नुहुन्छ, “म तिनीहरूलाई बाशानबाट ल्याउनेछु; म तिनीहरूलाई समुद्रको गहिराइहरूबाट फर्काइल्याउनेछु;
[23] तिमीहरूले आफ्ना खुट्टा आफ्ना वैरीहरूका रगतमा चोप्न सक, र तिमीहरूका कुकुरहरूले त्यही रगतमा जिब्रा चोप्न पाऊन्।”
[24] हे परमेश्वर, तपाईंको विजययात्रा देख्न सकिन्छ, मेरा परमेश्वर र महाराजाको पवित्रस्थानतिर विजययात्रा सवार भइरहेको छ।
[25] गायकहरू अगि-अगि छन्, तिनीहरूका पछि-पछि वाद्यवादकहरू छन्; र तिनीहरूसँग खैँजडी बजाउने कन्याहरू छन्।
[26] ठूलो महासभामा परमेश्वरको प्रशंसा गर! इस्राएलको सभामा याहवेहको प्रशंसा गर!
[27] सबैभन्दा सानो कुल बेन्यामीनले तिनीहरूलाई अगुवाइ गर्दछ, यहूदाका शासकहरू तिनीहरूको झुण्डमा सामेल छन्; जबूलूनका र नप्तालीका शासकहरू पनि तिनीहरूसँगै सामेल छन्।
[28] हे परमेश्वर, आफ्नो शक्तिको आह्वान गर्नुहोस्; हे परमेश्वर, तपाईंको शक्ति बितेको दिनमा जस्तै गरी हामीलाई देखाउनुहोस्।
[29] यरूशलेममा भएको तपाईंको मन्दिरको खातिर तपाईंको निम्ति राजाहरूले भेटीहरू ल्याउनेछन्।
[30] निगालो घारीको बीचमा रहने जङ्गली पशुलाई हप्काउनुहोस्; राष्ट्रहरूका बाछाहरूका बीचमा रहने साँढेहरूको झुण्डलाई हकार्नुहोस्! हारेपछि तिनीहरूले चाँदीका टुक्राहरू ल्याऊन्। लडाइँमा रमाउने राष्ट्रहरूलाई छरपस्ट पारिदिनुहोस्।
[31] राजदूतहरू इजिप्टबाट आउनेछन्; कूशले आफूलाई परमेश्वरमा समर्पण गर्नेछ।
[32] हे पृथ्वीका राज्यहरू हो, परमेश्वरको स्तुतिगान गर, प्रभुको प्रशंसा गाओ; सेला
[33] उहाँ, जो प्राचीनकालदेखि नै सर्वोच्च स्वर्गमा सवार गर्नुहुन्छ, जो शक्तिशाली आवाजका साथ गर्जनुहुन्छ।
[34] परमेश्वरको शक्तिको घोषणा गर, जसको महानता इस्राएलभरि छाएको छ, आकाशले उहाँको शक्ति देखाउँछ।
[35] तपाईं परमेश्वर, आफ्नो पवित्र वासस्थानमा अति शोभायमान हुनुहुन्छ; इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शक्ति र सामर्थ्य दिनुहुन्छ। परमेश्वरलाई प्रशंसा होस्!