[1] परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
[2] यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्, चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;
[3] चाहे समुद्र गर्जोस् र फीँज काढोस्, र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला
[4] एउटा नदी छ, जसको प्रवाहले परमेश्वरको नगर, सर्वोच्च परमेश्वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।
[5] परमेश्वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन; परमेश्वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।
[6] राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्। परमेश्वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ।
[7] सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्वर हाम्रो किल्ला हुनुहुन्छ। सेला
[8] आओ र याहवेहले गर्नुभएका कामहरू हेर, उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।
[9] पृथ्वीको छेउसम्मै उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ; उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ; उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ।
[10] उहाँले भन्नुहुन्छ, “शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान; म राष्ट्रहरूको बीचमा उच्च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।”
[11] सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्वर हाम्रो किल्ला हुनुहुन्छ। सेला