[1] हे परमेश्वर, ममाथि दया देखाउनुहोस्; किनकि मेरा शत्रुहरूले मेरो खेदो गर्छन्; तिनीहरूले मलाई दिनभरि नै आक्रमण गरिरहन्छन्।
[2] मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्; आफ्ना घमण्डमा धेरै जनाले मलाई आक्रमण गर्दछन्।
[3] जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
[4] परमेश्वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु— म उहाँमा भरोसा राख्छु र डराउँदिनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र?
[5] तिनीहरूले दिनभरि नै मेरा कुराहरूको उल्टो अर्थ लगाउँछन्; तिनीहरूका सबै योजनाहरू मेरो हानिको लागि हुन्छन्।
[6] मलाई मार्ने आशामा तिनीहरू षड्यन्त्र रच्छन्, लुकी बस्छन्; तिनीहरूले मेरा कदमहरू नियाल्छन्।
[7] तिनीहरूका दुष्टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्; हे परमेश्वर, तपाईंको रिसमा राष्ट्रहरूलाई ढालिदिनुहोस्!
[8] तपाईंले मेरो विलापको लेखा राख्नुहोस्; मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्— तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?
[9] जब म सहायताको निम्ति पुकार्छु, तब मेरा शत्रुहरू मबाट पछि हटेर जानेछन्। यस कुराबाट परमेश्वर मेरो पक्षमा हुनुहुन्छ भन्ने कुरा म जान्दछु।
[10] परमेश्वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु, याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
[11] परमेश्वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ। मलाई मरणशील मानिसले के गर्न सक्छ र?
[12] हे मेरा परमेश्वर, मैले तपाईंसँग भाकलहरू गरेको छु; मेरो धन्यवादको बलि म तपाईंलाई चढाउनेछु;
[13] किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ; र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ, ताकि म परमेश्वरको सामु जीवनको ज्योतिमा हिँड्न सकूँ।