Skip to content
Opens in a new window
Listen to this chapter • 6:17

[1] हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! हे याहवेह, मेरा परमेश्‍वर, तपाईं अति महान् हुनुहुन्छ; तपाईंले वैभव र प्रतापको पोशाक पहिरनुभएको छ।

[2] पोशाक पहिरेझैँ उहाँले आफूलाई ज्योतिले ढाक्नुभएको छ; उहाँले आकाशलाई पालझैँ तन्काउनुभएको छ;

[3] उहाँले आफ्नो माथिल्‍लो कोठाका दलिनहरू पानीमाथि बसाल्नुभएको छ। उहाँले बादललाई आफ्ना रथ बनाउनुहुन्छ; र उहाँ बतासका पखेटामा सवार हुनुहुन्छ।

[4] उहाँले बतासलाई आफ्ना दूत, र आगोका ज्वालालाई आफ्ना सेवक बनाउनुहुन्छ।

[5] उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभयो; त्यो कहिल्यै डगमगाउनेछैन।

[6] तपाईंले त्यसलाई वस्त्रले झैँ गहिरो पानीले ढाक्नुभयो; पानी पर्वतहरूमाथि पुगेको थियो।

[7] तर तपाईंको हप्कीमा पानी भागे, तपाईंको गर्जनको सोरमा ती तुरुन्तै हटेर गए;

[8] पर्वतहरू खडा भए र तल बेँसीहरू देखा परे, तपाईंले तिनीहरूलाई तोकिदिनुभएको ठाउँमा ती बनिए।

[9] पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनी तपाईंले त्यसले नाघ्न नसक्ने सिमाना राखिदिनुभयो।

[10] उहाँले खोल्साहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ; ती पर्वतका बीच भएर बग्दछन्।

[11] तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्; अनि जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा त्यहीँ मेटाउँछन्।

[12] आकाशका चराचुरुङ्गीहरूले त्यसकै छेउमा आफ्ना गुँड बनाउँछन्; हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्।

[13] उहाँले आफ्ना उच्‍च कक्षबाट पर्वतहरूमा पानी बर्साउनुहुन्छ; उहाँको कामका फलबाट पृथ्वी तृप्‍त हुन्छ।

[14] उहाँले गाईबस्तुका निम्ति घाँस, र मानिसले खेतबारीमा परिश्रम गरोस् भनी बोटबिरुवा उमार्नुहुन्छ; र जमिनबाट आहारा ल्याउनुहुन्छ।

[15] मानिसका हृदय हर्षित पार्नलाई दाखमद्य, त्यसको मुख चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो तुल्याउनलाई उहाँले रोटी दिनुहुन्छ।

[16] याहवेहका रूखहरू र उहाँले लगाउनुभएका लेबनानका देवदारुका रूखहरूले पर्याप्‍त पानी पाउँछन्।

[17] त्यहाँ चराहरूले आफ्ना गुँड लगाउँछन्; सारसले पनि सल्‍लाका रूखहरूमा आफ्नो गुँड बनाउँछ।

[18] अग्ला पर्वतहरू जङ्गली बाख्राहरूका निम्ति हुन्; पहराहरू खरायोहरूका निम्ति शरणस्थान हुन्।

[19] ऋतु छुट्ट्याउन उहाँले चन्द्रमा बनाउनुभयो; सूर्यले आफ्नो अस्ताउने बेला जान्दछ।

[20] तपाईंले अँध्यारो ल्याउनुहुन्छ, र रात पर्छ; र सबै जङ्गली पशुहरू निस्किआउँछन्।

[21] सिंहहरू आफ्ना शिकारका निम्ति गर्जन्छन् र तिनीहरूले परमेश्‍वरबाट आफ्ना आहारा खोज्छन्।

[22] सूर्य उदाउँदा ती जङ्गली पशुहरू गइहाल्छन्; तिनीहरू आफ्ना ओडारमा फर्कन्छन् र आराम गर्छन्।

[23] तब मानिसहरू आफ्ना काममा जान्छन्, र साँझसम्म परिश्रम गर्छन्।

[24] हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ! ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ; पृथ्वी तपाईंको सृष्‍टिले भरिपूर्ण छ।

[25] त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगन्ती जीवजन्तुहरू छन्— साना र ठूला दुवै किसिमका जीवित प्राणीहरू त्यहाँ छन्।

[26] त्यसमाथि जहाजहरू ओहोर-दोहोर गर्दछन्; त्यहाँ लिव्यातन छ, जसलाई त्यहाँ खेल्नलाई तपाईंले बनाउनुभयो।

[27] ठिक समयमा आफ्ना आहारा पाउने आशाले तिनीहरू सबैले तपाईंको बाटो हेर्छन्।

[28] जब तपाईंले त्यो तिनीहरूलाई दिनुहुन्छ, तब तिनीहरूले त्यो बटुल्छन्; जब तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, तिनीहरू उत्तम पदार्थहरूले तृप्‍त हुन्छन्।

[29] जब तपाईंले आफ्ना मुहार लुकाउनुहुन्छ, तिनीहरू भयभीत हुन्छन्; जब तपाईंले तिनीहरूको सास लिनुहुन्छ, तिनीहरू मर्छन् र माटोमा फर्किजान्छन्।

[30] जब तपाईंले आफ्नो आत्मा पठाउनुहुन्छ, तब तिनीहरूको सृष्‍टि हुन्छ; र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।

[31] याहवेहको महिमा सदासर्वदा रहिरहोस्; याहवेह आफ्ना कार्यहरूमा प्रसन्‍न होऊन्—

[32] उहाँले पृथ्वीलाई हेर्नुहुन्छ, र त्यो थरथरी काम्दछ; उहाँले पर्वतहरूलाई छुनुहुन्छ, र तीबाट धुवाँ निस्कन्छ।

[33] म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु; म बाँचुन्जेल परमेश्‍वरको प्रशंसा गाउनेछु।

[34] जब म याहवेहमा आनन्दित हुन्छु; मेरो ध्यान उहाँलाई मनपर्दो होस्।

[35] तर पापीहरू पृथ्वीबाट नाश भएर जाऊन्, र दुष्‍टहरू रहँदै नरहून्! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! याहवेहको प्रशंसा गर्!

भजनसंग्रह — Chapters