[1] हे याहवेह, दुष्ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्;
[2] जसले आफ्ना हृदयमा दुष्ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्चाउँछन्।
[3] तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्; तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला
[4] हे याहवेह, दुष्टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।
[5] अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्; तिनीहरूले आफ्ना जाल बिछाएका छन्; र मेरो निम्ति बाटोमा धराप थापेका छन्। सेला
[6] म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्नुहोस्!
[7] हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक, लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ।
[8] हे याहवेह, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्; तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्। सेला
[9] जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्; तिनीहरूका ओठको दुष्टता तिनीहरूमाथि नै आइपरोस्!
[10] झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरूलाई आगोमा नै फ्याँकियोस्; र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्!
[11] निन्दा गर्नेहरू भूमिमा स्थापित नहोऊन्, हिंस्रक मानिसलाई विनाशले शिकार बनाओस्!
[12] म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ; र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ।
[13] निश्चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।