[1] हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
[2] याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारकर्ता हुनुहुन्छ; मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु, उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्च गढ हुनुहुन्छ।
[3] म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म मेरा शत्रुहरूबाट बचाइन्छु।
[4] मृत्युका पासोहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत बनाए;
[5] चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्यो।
[6] मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ; सहायताको निम्ति मैले मेरा परमेश्वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो; मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो।
[7] पृथ्वी काम्यो, र हल्लियो; र पहाडका जगहरू हल्लिए; तिनीहरू थरथर कामे, किनकि उहाँ रिसाउनुभएको थियो।
[8] उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के।
[9] उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो।
[10] करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।
[11] उहाँले अन्धकारलाई आफ्नो ओढ्ने, मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने, मण्डप तुल्याउनुभयो।
[12] उहाँको उपस्थितिको ज्योतिबाट, असिना र बिजुलीका गर्जन लिई बाक्लो बादल अगि बढ्यो।
[13] याहवेह स्वर्गबाट गर्जनुभयो; असिना र बिजुलीका साथ सर्वोच्चको सोर गुञ्जायमान भयो।
[14] उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो।
[15] हे याहवेह, तपाईंको हप्काइले र तपाईंका नाकका प्वालबाट निस्केका सासले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए।
[16] उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो।
[17] उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए।
[18] मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो।
[19] उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो।
[20] याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।
[21] किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ।
[22] उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ।
[23] म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु।
[24] याहवेहले मेरो धार्मिकताअनुसार, उहाँको दृष्टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
[25] विश्वासयोग्यसँग तपाईं आफूलाई विश्वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;
[26] शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ, तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ।
[27] तपाईं नम्रहरूलाई बचाउनुहुन्छ, तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ।
[28] हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ; मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
[29] तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु।
[30] परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।
[31] किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र? हाम्रा परमेश्वरबाहेक अर्को चट्टान को छ र?
[32] उनै परमेश्वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ, र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ।
[33] उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ।
[34] उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्।
[35] तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ; तपाईंको सहायताले मलाई महान् बनाएको छ।
[36] तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ, ताकि मेरा गोडा नचिप्लून्।
[37] मेरा शत्रुहरूलाई मैले खेदेर भेट्टाएँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ।
[38] मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे।
[39] तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ।
[40] तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ।
[41] तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन।
[42] मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ; मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चिएँ।
[43] तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्।
[44] विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्।
[45] तिनीहरूको सारा साहस हराउँछन्; तिनीहरूका किल्लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।
[46] याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्वर, मेरा मुक्तिदाता, उच्च होऊन्!
[47] उहाँ मेरो परमेश्वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ,
[48] जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ।
[49] यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु।
[50] उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम देखाउनुहुन्छ, दावीद र तिनका वंशहरूलाई सदासर्वदा।