Skip to content
Opens in a new window
Listen to this chapter • 1:45

[1] बेबिलोनका नदीहरूको किनारमा बसेर, हामी सियोनलाई सम्झँदै रोयौँ।

[2] त्यहाँका लहरे पीपलहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ,

[3] किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए; हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!”

[4] बिरानो देशमा हुँदा कसरी हामी याहवेहको गीत गाउन सक्छौँ?

[5] हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सिप भूलोस्।

[6] यदि मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई आफ्नो सर्वोच्‍च आनन्द नमानेको भए, मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्!

[7] हे याहवेह, यरूशलेमको पतन भएको दिन, एदोमीहरूले के गरे, सम्झनुहोस्। तिनीहरूले चीत्कार गरे, “त्यसलाई भत्काओ, जगदेखि नै त्यसलाई भत्काओ!”

[8] सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी, तैँले हामीमाथि जे गरिस्, त्यसको लागि तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ।

[9] त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्‍चाहरूलाई खोस्छ र तिनीहरूलाई चट्टानमा पछार्दछ।

भजनसंग्रह — Chapters