Skip to content
Opens in a new window
Listen to this chapter • 3:00

[1] हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्; हे परमेश्‍वर, आफ्नो कान नथुन्‍नुहोस्; तपाईं निष्क्रिय नहुनुहोस्!

[2] हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्, तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्।

[3] तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्; तिनीहरू तपाईंले अनमोल ठान्‍नुभएकाहरूको विरुद्धमा मतो गर्छन्।

[4] तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ; ताकि इस्राएल भन्‍ने नामको सम्झना नै नरहोस्!”

[5] तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्; तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्—

[6] एदोमीहरू र इश्माएलीहरूका पालहरू, मोआबीहरू र हग्रीहरू,

[7] गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू, पलिश्तीहरू र टायरका निवासीहरू।

[8] लोतका सन्तानलाई सशक्त पार्न, अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला

[9] मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्, कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्,

[10] जो एन्दोरमा नाश पारिएका थिए, र जमिनमा फोहोर भएका थिए।

[11] तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ, राजकुमारहरूलाई जेबह र सल्मुन्‍नाजस्तै बनाउनुहोस्;

[12] जसले भने, “हामी परमेश्‍वरका खर्कलाई कब्जा गरौँ।”

[13] हे मेरा परमेश्‍वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ, बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्!

[14] जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाड जलाउँछ,

[15] त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस् र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्!

[16] तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह, तिनीहरूले तपाईंको नामको खोजी गरून्।

[17] तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्; तिनीहरू अपमानमा नष्‍ट होऊन्।

[18] तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो— तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ।

भजनसंग्रह — Chapters