[1] जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ, त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।
[2] म याहवेहको बारेमा भन्नेछु, “उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।”
[3] निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढीबाट बचाउनुहुनेछ।
[4] उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ; र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ; उहाँको विश्वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।
[5] तिमी रातको त्रासदेखि डराउनेछैनौ, न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ,
[6] न अन्धकारमा फैलिने रूढीदेखि, न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।
[7] तिम्रो नजिक एक हजार जना ढल्नेछन्, तिम्रो दाहिने हाततिर दश हजार; तर त्यो तिम्रो नजिक आउनेछैन।
[8] तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ, र दुष्टहरूको दण्ड देख्नेछौ।
[9] यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,” र सर्वोच्च परमेश्वरलाई आफ्नो वासस्थान बनायौ भने,
[10] तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
[11] किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ;
[12] तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।
[13] तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ; जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि कुल्चनेछौ।
[14] याहवेह भन्नुहुन्छ, “उसले मलाई प्रेम गरेको हुनाले, म उसलाई छुटाउनेछु; उसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म उसको रक्षा गर्नेछु।
[15] उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु; उसका दुःखको घडीमा म उसँग रहनेछु; म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।
[16] लामो आयु दिएर म उसलाई सन्तुष्ट पार्नेछु र म उसलाई मेरो मुक्ति देखाउनेछु।”