Skip to content
Opens in a new window
Listen to this chapter • 3:19

[1] याहवेहको प्रशंसा गर! हाम्रा परमेश्‍वरको स्तुति गाउनु असल हो; उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ!

[2] याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ।

[3] उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

[4] उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ; र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ।

[5] हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ; उहाँको समझशक्तिको कुनै सीमा छैन।

[6] याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टलाई भुइँमा खसाल्नुहुन्छ।

[7] कृतज्ञतासहित याहवेहका निम्ति गाओ; वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्‍वरको स्तुति गाओ।

[8] उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ; अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।

[9] उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ, र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ।

[10] उहाँको आनन्द घोडाको बलमा होइन, न त योद्धाका खुट्टामा उहाँ प्रसन्‍न हुनुहुन्छ;

[11] तर याहवेह उहाँको भय मान्‍नेहरूसँग, उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्‍न हुनुहुन्छ।

[12] हे यरूशलेम, याहवेहको स्तुति गर्! हे सियोन, आफ्ना परमेश्‍वरको प्रशंसा गर्।

[13] उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ; अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ।

[14] उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई असल गहुँले सन्तुष्‍ट पार्नुहुन्छ।

[15] उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ।

[16] उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ; अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ।

[17] उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ; उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?

[18] उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।

[19] उहाँले आफ्नो वचन याकोबलाई, अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ।

[20] उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन; तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। याहवेहको प्रशंसा गर!

भजनसंग्रह — Chapters