[1] हे परमेश्वर, राजालाई तपाईंको न्याय, र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।
[2] राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।
[3] पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्; पहाडहरूले धार्मिकताका फल ल्याऊन्।
[4] उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्, र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्; उहाँले अत्याचारीहरूलाई नाश गरून्।
[5] जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ, सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।
[6] तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै, र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।
[7] राजाको शासनकालमा धर्मीहरूको उन्नति होस्, र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।
[8] राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।
[9] राजाको सामु मरुभूमिमा बस्नेहरूले दण्डवत् गरून्, र उनका शत्रुहरूले धुलो चाटून्।
[10] तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले उनलाई सलामी ल्याऊन्; शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढाऊन्।
[11] सबै राजाहरू उनको अगाडि निहुरिऊन्; र सबै राष्ट्रहरूले उनको सेवा गरून्।
[12] किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्; पीडितहरू जसको सहायता गर्ने कोही छैन।
[13] दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्, र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्।
[14] उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्; किनकि उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य छ।
[15] तिनी दीर्घायु होऊन्! तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्। तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्, र दिनभरि नै तिनलाई आशिष् देऊन्।
[16] देशभरि नै प्रशस्त अन्न होस्; पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्। तिनको बाली लेबनानझैँ फस्टाओस्; र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।
[17] तिनको नाम सदासर्वदा रहिरहोस्; सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्। तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; र तिनलाई धन्यका भन्नेछन्।
[18] इस्राएलका परमेश्वर, याहवेह परमेश्वरलाई प्रशंसा होस्! उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।
[19] उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्; उहाँको महिमाले सारा पृथ्वी भरियोस्। आमेन! आमेन!
[20] यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्त हुन्छ।