[1] आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ; हाम्रा मुक्तिका चट्टानको निम्ति उच्च सोरले जयजयकार गरौँ!
[2] धन्यवाद चढाउँदै उहाँको सामु आऔँ, भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
[3] किनकि याहवेह महान् परमेश्वर हुनुहुन्छ, सबै देवहरूमाथि महान् राजा।
[4] पृथ्वीका गहिराइहरू उहाँको हातमा छ; र पर्वतका चुचुराहरू उहाँकै हुन्।
[5] समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो, र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।
[6] आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ; याहवेह हाम्रा सृष्टिकर्ताको अगि घुँडा टेकौँ;
[7] किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ; अनि हामी उहाँको खर्कका प्रजा र उहाँको रेख-देखमा रहेको बगाल हौँ। यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
[8] “तिमीहरूले मेरीबामा गरेजस्तो आफ्नो हृदय कठोर नपार; जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा गरेका थियौ,
[9] जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे; तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए।
[10] चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ, र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’
[11] यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।’ ”