[1] साँच्चै नै परमेश्वर इस्राएलको निम्ति भलो हुनुहुन्छ; तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ।
[2] तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए; मैले टेक्ने आधार हराउनै लागेको थिएँ;
[3] किनकि जब मैले दुष्टहरूको उन्नति देखेँ, तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ।
[4] तिनीहरूलाई कुनै पीडा छैन; तिनीहरूका शरीर एकदम हृष्टपुष्ट र बलिया छन्।
[5] अन्य मानिसहरूझैँ तिनीहरू कष्टमा पर्दैनन्; मानिसलाई लाग्ने रोगहरूले तिनीहरूलाई छुँदैन।
[6] यसकारण अहङ्कार तिनीहरूका गहना हो, र हिंसा तिनीहरूका पहिरन।
[7] तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ; तिनीहरूका दुष्ट कल्पनाको कुनै सीमा छैन।
[8] तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्; अहङ्कारसाथ अरूलाई अत्याचारको धम्की दिन्छन्।
[9] तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्, र तिनीहरूका जिब्रोले पृथ्वी अधिकार गर्दछन्।
[10] त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्, र प्रशस्ततामा पानी पिउँछन्।
[11] तिनीहरूले भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ र? के सर्वोच्च परमेश्वरमा कुनै कुराको ज्ञान छ र?”
[12] दुष्टहरू कस्ता हुन्छन्— तिनीहरूले निस्फिक्री भई सधैँ धनसम्पत्ति थुपार्छन्।
[13] साँच्चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु, र मेरो निर्दोषतामा आफ्नो हात धोएको छु।
[14] दिनभरि म कष्ट भोगेको छु, र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ।
[15] यदि मैले त्यसरी भनेको भए त, तपाईंका सन्तानलाई मैले विश्वासघात गर्नेथिएँ।
[16] जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ, तब मेरा निम्ति यो अति कठिन भयो।
[17] जब म परमेश्वरको पवित्रस्थानभित्र पसेँ; तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझेँ।
[18] निश्चय नै तपाईंले तिनीहरूलाई चिप्ला स्थानहरूमा राख्नुहुन्छ; तपाईंले तिनीहरूलाई सर्वनाशको लागि फालिदिनुहुन्छ।
[19] केही क्षणमै तिनीहरू नष्ट पारिन्छन्; त्रासले तिनीहरू पूर्ण रूपमा ध्वस्त हुन्छन्!
[20] तिनीहरू बिहान बिउँझँदा टलेर जाने खराब सपनाजस्तै हुन्; हे प्रभु, जब तपाईं उठ्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्नुहुन्छ।
[21] जब मेरो मन घोर पीडामा थियो, मेरो आत्मामा तितोपना थियो,
[22] म चेतनाहीन र ज्ञानविहीन थिएँ; तपाईंको सामु म पशुजस्तै थिएँ।
[23] तरै पनि म सधैँ तपाईंसँगै रहन्छु; तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ।
[24] तपाईंको सल्लाहले मलाई डोर्याउनुहुन्छ, र त्यसपछि मलाई महिमामा लानुहुनेछ।
[25] स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन।
[26] मेरो देह र मेरो हृदय दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ।
[27] तपाईंबाट टाढा रहने मानिसहरू नष्ट हुनेछन्; तपाईंलाई विश्वासघात गर्ने सबैलाई तपाईंले विनाश गर्नुहुन्छ।
[28] तर मेरो लागि चाहिँ परमेश्वरको नजिक रहन पाउनु असल छ; मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु; म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।