[1] हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्।
[2] किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्, र तपाईंको हात ममाथि परेको छ।
[3] तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन; मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्।
[4] मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्।
[5] मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्।
[6] म झुकेर धुलैमा मिलिसकेको छु; सारा दिन म विलाप गर्दै हिँड्छु।
[7] मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन।
[8] म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु।
[9] हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन।
[10] मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
[11] मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्; मेरा छिमेकीहरू टाढै उभिन्छन्।
[12] मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्; मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्; दिनभरि छली योजना रच्दछन्।
[13] म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्न सक्दैन; बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु;
[14] सुन्न नसक्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन।
[15] हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु; हे प्रभु, मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ।
[16] किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।”
[17] किनकि म त ढल्नै लागेको छु; र मेरो पीडा सधैँ मसँग छ।
[18] मेरो अधर्म म स्वीकार गर्दछु; मेरो पापको कारण म दुःखित छु।
[19] कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्।
[20] मेरो भलाइको साटो खराबी गर्दछन्, मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनि मेरो विरुद्धमा दोष लगाउँछन्।
[21] हे याहवेह, मलाई नत्याग्नुहोस्; हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस्!
[22] हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्!