Skip to content
Opens in a new window
Listen to this chapter • 4:27

[1] हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्छ।

[2] तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्‍नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।

[3] तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्‍नुहुन्छ; मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ।

[4] मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै, हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्‍नुहुन्छ।

[5] तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ; र आफ्नो हात ममाथि राख्नुभएको छ।

[6] मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्‍चर्यपूर्ण छ; यसलाई प्राप्‍त गर्न मेरो निम्ति अति कठिन छ।

[7] तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु?

[8] यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।

[9] यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्‍लो किनारमा पुगेर बसेँ भने पनि,

[10] त्यहाँ पनि तपाईंको हातले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने हातले मलाई थाम्नेछ।

[11] यदि मैले, “अन्धकारले मलाई छोपोस्, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्,” भनी भनेँ पनि

[12] अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन; र रात पनि दिनझैँ चम्कनेछ; किनकि तपाईंको निम्ति अन्धकार पनि ज्योतिजस्तै हो।

[13] किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो; तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्‍नुभयो।

[14] म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्‌भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्‌भुत छन्, म त्यो राम्ररी जान्दछु।

[15] मेरो आकार तपाईंबाट लुकेको थिएन, जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ; जब म अदृष्यमा बनिँदैथिएँ;

[16] तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे; मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए; तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।

[17] हे परमेश्‍वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्! तिनको योग कति विशाल छ!

[18] यदि मैले तिनलाई गन्ती गरेँ भने, बालुवाका कणहरूभन्दा पनि तिनको संख्या बढी हुनेछन्। जब म बिउँझन्छु, तब म तपाईंसँग नै भएको पाउँदछु।

[19] हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभए त कति असल हुनेथियो! हे रक्तपिपासुहरू हो, मबाट दूर भइजाओ!

[20] दुष्‍ट मनसायले तिनीहरू तपाईंको विषयमा बोल्दछन्; तपाईंका शत्रुहरूले तपाईंको नामको दुरुपयोग गर्दछन्।

[21] हे याहवेह, तपाईंलाई घृणा गर्नेहरूलाई, के म घृणा गर्दिनँ र? र तपाईंको विरोध गर्नेहरूलाई, के म तुच्छ ठान्दिनँ र?

[22] मेरो हृदयमा तिनीहरूका निम्ति घृणाबाहेक अरू केही छैन; म तिनीहरूलाई मेरै शत्रु ठान्दछु।

[23] हे परमेश्‍वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्‍नुहोस्; मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्‍नुहोस्।

[24] हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि, र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस्!

भजनसंग्रह — Chapters