[1] हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्; मेरो प्रार्थना सुनिदिनुहोस्।
[2] जब मेरो हृदय धेरै व्याकुल हुन्छ, तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु; मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
[3] किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ, तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ।
[4] तपाईंको पालमा सदासर्वदा रहिरहन, र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्ने मेरो चाहना छ। सेला
[5] किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ; तपाईंको नामको भय मान्नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।
[6] राजाको आयु बढाइदिनुहोस्; पुस्तौँसम्म उनको आयु बढाउनुहोस्।
[7] उनी परमेश्वरको उपस्थितिमा सदासर्वदा राज गरून्; तपाईंको अचुक प्रेम र विश्वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!
[8] तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।