Skip to content
Opens in a new window
Listen to this chapter • 5:20

[1] हे परमेश्‍वर, हामीले आफ्नै कानले सुनेका छौँ; हाम्रा पितापुर्खाहरूले हामीलाई भनेका छन्, तपाईंले प्राचीन कालमा, उनीहरूका समयमा के-के कामहरू गर्नुभयो।

[2] तपाईंले आफ्नै हातले जाति-जातिहरूलाई धपाइदिनुभयो, र हाम्रा पितापुर्खाहरूलाई बसाल्नुभयो; तपाईंले जाति-जातिहरूलाई सताउनुभयो, र हाम्रा पितापुर्खाहरूलाई वृद्धि गराउनुभयो।

[3] तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्, न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्; तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए; किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।

[4] तपाईं मेरा राजा र मेरा परमेश्‍वर हुनुहुन्छ; जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ।

[5] तपाईंद्वारा नै हाम्रा शत्रुहरूलाई पछाडि धपाउँछौँ; तपाईंको नामद्वारा नै हाम्रा वैरीहरूलाई कुल्चन्छौँ।

[6] म आफ्नो धनुमा भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय गराउँदैन;

[7] तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ; तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ।

[8] दिनभरि नै हामी आफ्ना परमेश्‍वरमा गर्व गर्छौँ, र हामी सदाकाल तपाईंको नामको प्रशंसा गर्नेछौँ। सेला

[9] तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ; तपाईं हाम्रा सेनाहरूको साथमा जान छोड्नुभएको छ।

[10] तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ; र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्।

[11] तपाईंले हामीलाई भेडाहरूजस्तै अरूको आहारा हुनलाई त्यागिदिनुभएको छ; र हामीलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नुभएको छ।

[12] तपाईंले आफ्नो प्रजाहरूलाई सस्तोमा दास हुनलाई बेचिदिनुभएको छ; तिनीहरूको बिक्रीबाट तपाईंलाई केही फाइदा भएको छैन।

[13] हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार र हाँसोको पात्र बनाउनुभएको छ; छिमेकीहरूका बीचमा हामीलाई हाँसोको पात्र तुल्याउनुभएको छ।

[14] तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा हाँसोको पात्र हुन दिनुभएको छ; मानिसहरू हामीलाई देखेर टाउको हल्‍लाउँछन्।

[15] मेरो गिल्‍ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले, बदला लिने शत्रुहरूका कारणले,

[16] मैले आफ्नो अपमान दिनभरि सहनुपर्छ, र मेरो अनुहार लाजले ढाकिएको छ।

[17] यी सबै कुरा हामीमाथि परिआएका छन्; यद्यपि हामीले तपाईंलाई बिर्सेका छैनौँ, हामी तपाईंको करारप्रति झूटो भएका छैनौँ।

[18] हाम्रा हृदय तपाईंबाट पछाडि फर्केका छैनन्; हाम्रा पाइलाहरू तपाईंका मार्गबाट तर्किएका छैनन्।

[19] तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्‍ने ठाउँ बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो।

[20] यदि हाम्रा परमेश्‍वरको नाम हामीले बिर्सिएका छौँ भने, अथवा कुनै विदेशी देवी-देवतातिर हाम्रा हातहरू पसारेका छौँ भने,

[21] के परमेश्‍वरले त्यो कुरा जान्‍नुहुने थिएन र? किनकि उहाँले हाम्रा हृदयका गुप्‍त कुराहरू समेत जान्‍नुहुन्छ।

[22] तरै पनि तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।

[23] हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ? जाग्नुहोस्! हामीलाई सदाको लागि नत्याग्नुहोस्।

[24] किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा दुःख र हामीमाथिको अत्याचार बिर्सनुहुन्छ?

[25] हामी धुलोसम्मै झारिएका छौँ; हाम्रो पेट जमिनमै टाँसिसकेको छ।

[26] उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्!

भजनसंग्रह — Chapters