Skip to content
Opens in a new window
Listen to this chapter • 2:38

[1] हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र पर्वतमा, याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ।

[2] उचाइमा सुन्दर, सारा पृथ्वीको आनन्द सियोन पर्वत हो, जो सापोनको उचाइझैँ छ, जो हाम्रा महाराजाको सहर हो।

[3] तिनका किल्‍लाहरूमा परमेश्‍वर हुनुहुन्छ; तिनका रक्षक परमेश्‍वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।

[4] जब राजाहरूले एकसाथ दल बाँधे; जब तिनीहरूसँगै अगि बढे,

[5] तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्‍क परे; तिनीहरू डराएर भागे।

[6] तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे, प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे।

[7] तर्शीशको जहाजहरूलाई झैँ तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्‍ट पार्नुभयो।

[8] सेनाहरूका याहवेहको सहरमा, हाम्रा परमेश्‍वरको नगरमा, जस्तो हामीले सुनेका थियौँ, त्यस्तै देखेका छौँः परमेश्‍वरले तिनलाई सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला

[9] हे परमेश्‍वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ।

[10] हे परमेश्‍वर, तपाईंको नामजस्तै, तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ; तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।

[11] तपाईंका सही न्यायहरूका कारण, सियोन पर्वत आनन्दित हुन्छ; यहूदाका सहरहरू हर्षित हुन्छन्।

[12] सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर; यसका धरहराहरू गन,

[13] यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर; यसका किल्‍लाहरूमाथि दृष्‍टि लगाओ; तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा राम्ररी वर्णन गर्न सक्छौ।

[14] किनकि यिनै परमेश्‍वर हाम्रा सदासर्वदाका परमेश्‍वर हुनुहुन्छ; अनन्तसम्मै उहाँले हामीलाई अगुवाइ गर्नुहुनुहुनेछ।

भजनसंग्रह — Chapters