[1] याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्; टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।
[2] उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ; धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।
[3] आगो उहाँको अगि-अगि जान्छ, र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ।
[4] उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ; पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।
[5] याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्, उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।
[6] स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।
[7] मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू, सबै जना शर्ममा पर्नेछन्; हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!
[8] तपाईंकै न्यायको कारण हे याहवेह, सियोनले सुन्छ र आनन्दित हुन्छ; र यहूदाका गाउँहरू हर्षित हुन्छन्।
[9] किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्च परमेश्वर हुनुहुन्छ; तपाईं सबै देवताहरूभन्दा अति उच्च हुनुहुन्छ।
[10] याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्टतालाई घृणा गरून्; किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ र तिनीहरूलाई दुष्टहरूको हातबाट छुटाउनुहुन्छ।
[11] धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।
[12] हे धर्मीहरू हो, याहवेहमा रमाहट गर; र उहाँका पवित्र नामको प्रशंसा गर!