[1] हे याहवेह, तपाईं नै त्यो परमेश्वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ; दिनरात म तपाईंलाई पुकार्दछु।
[2] मेरो प्रार्थना तपाईंको सामु पुगोस्; मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!
[3] किनकि मेरो प्राण पीडाले भरिएको छ र मेरो जीवन चिहानको नजिकै पुगेको छ।
[4] चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ; म शक्तिविहीन मानिसझैँ भएको छु।
[5] म मरेकाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्, जसलाई तपाईं कहिल्यै सम्झनुहुन्न; जो तपाईंको वास्ताबाट त्यागिएका छन्।
[6] तपाईंले मलाई चिहानको तल्लो भागमा, अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।
[7] तपाईंको क्रोधले मलाई दबाएर राखेको छ; तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला
[8] मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ; तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ। म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;
[9] शोकले मेरा आँखाहरू धमिला हुन्छन्। हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु; म मेरा हात तपाईंतिर पसार्दछु।
[10] के मृतकहरूलाई तपाईं आफ्ना अद्भुत कार्यहरू देखाउनुहुन्छ? के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला
[11] के तपाईंको अचुक प्रेम चिहानमा, तपाईंको विश्वसताको मृत-लोकमा घोषणा गरिन्छ?
[12] के तपाईंको अद्भुत कार्यहरू अन्धकारको स्थानमा, अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?
[13] हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु; बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।
[14] हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ? अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?
[15] मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु; तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।
[16] तपाईंको क्रोध ममाथि खनिएको छ; तपाईंका त्रासहरूले मलाई नष्ट पारेका छन्।
[17] तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्; तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।
[18] तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ— अन्धकार मेरो नजिकको मित्र बनेको छ।