Skip to content
Opens in a new window
Listen to this chapter • 2:12

[1] हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्!

[2] मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्!

[3] हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्!

[4] मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्‍ठ भोजन खान नपरोस्!

[5] धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ; तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन; किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ।

[6] तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्‍टहरूले जान्‍नेछन् कि, मेरा वचनहरू ठिक थिए।

[7] तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।”

[8] हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्!

[9] कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्!

[10] म सकुशल उम्कँदा, दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।

भजनसंग्रह — Chapters