[1] याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर!
[2] उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको गीत गाओ; उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर!
[3] उहाँको पवित्र नाममा गौरव गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्!
[4] याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर!
[5] हे याहवेहका सेवक, हे अब्राहामका वंश हो, हे उहाँबाट चुनिएका याकोबका सन्तानहरू हो, उहाँले गर्नुभएका अद्भुत कार्यहरूका स्मरण गर, उहाँका अचम्मका कामहरू र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!
[7] उहाँ नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।
[8] परमेश्वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो,
[9] त्यो करार जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो, त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो।
[10] त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, इस्राएलसँग अनन्त करारको रूपमा पक्का गर्नुभयो:
[11] “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।”
[12] जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशी थिए,
[13] तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, एउटा राज्यबाट अर्को राज्यमा भौँतारिँदै हिँड्थे।
[14] उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:
[15] “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”
[16] उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र तिनीहरूका आहाराको सम्पूर्ण स्रोत नष्ट गरिदिनुभयो;
[17] उहाँले योसेफ नाम गरेका पुरुषलाई, तिनीहरूको अगि पठाउनुभयो— जो दासको रूपमा बेचिएका थिए।
[18] तिनका खुट्टाहरूमा नेल ठोकेर तिनीहरूले घाइते पारेका थिए; तिनको घाँटीमा फलामको साङ्लाले बाँधेका थिए,
[19] उहाँका अगमवाणी पूरा नभएसम्म, याहवेहको वचनले तिनलाई सत्य प्रमाणित नगरेसम्म; तिनीहरूले त्यसो गरे।
[20] राजाले मानिस पठाएर तिनलाई छुटाए; जनताका शासकले तिनलाई मुक्त गरे।
[21] राजाले तिनलाई आफ्नो घरको मालिक, र आफ्ना सबै धनसम्पत्तिको शासक बनाए।
[22] तिनकै इच्छाअनुसार आफ्ना राजकुमारहरूलाई बुद्धि सिकाऊन्, र आफ्ना प्रधानहरूलाई ज्ञानका कुरा सिकाऊन् भनी खटाए।
[23] त्यसपछि इस्राएल इजिप्टमा आए; याकोब हामको देशमा प्रवासी भएर बसे।
[24] याहवेहले आफ्ना प्रजालाई अत्यन्त फलवन्त बनाउनुभयो; तिनीहरूका शत्रुहरूभन्दा तिनीहरूको संख्या अनगन्ती बनाउनुभयो।
[25] परमेश्वरले इजिप्टियनहरूका हृदयलाई उहाँका जनहरूलाई घृणा गर्ने बनाउनुभयो; ताकि आफ्ना सेवकहरूका विरुद्धमा षड्यन्त्र रचून्।
[26] उहाँले आफ्ना सेवक मोशालाई, र आफूले चुन्नुभएका हारूनलाई तिनीहरूकहाँ पठाउनुभयो।
[27] तिनीहरूका बीचमा ती दुईले उहाँका अलौकिक चिन्हहरू, हामका देशमा उहाँका अद्भुत कार्यहरू देखाए।
[28] उहाँले अन्धकार पठाउनुभयो र देशमा अँध्यारो भयो— किनकि तिनीहरूले उहाँको आदेशहरूको विरोध गरेका थिए।
[29] उहाँले तिनीहरूका पानीलाई रगतमा परिवर्तन गर्नुभयो, जसले गर्दा तिनीहरूका माछाहरू मरे।
[30] तिनीहरूको देश भ्यागुताहरूले भरियो, ती तिनीहरूका शासकहरूका शयनकक्षसम्मै पुगे।
[31] उहाँले आदेश दिनुभयो र त्यहाँ झिँगाको बथान ओइरियो, र तिनीहरूको सारा देश भुसुनाहरूले भरियो।
[32] उहाँले पानीको साटो असिना बर्साउनुभयो, र उनीहरूको देशभरि चट्याङ पठाउनुभयो;
[33] उहाँले तिनीहरूका अङ्गुर र नेभाराका रूखहरू ध्वस्त पार्नुभयो, र तिनीहरूका देशका रूखहरू ढालिदिनुभयो।
[34] उहाँले आज्ञा गर्नुभयो, र सलहहरू आए, असंख्य फट्याङ्ग्राहरू आए;
[35] तिनीहरूले त्यस देशका हरेक वनस्पति खाइदिए, तिनीहरूको भूमिको उब्जनीहरू सखाप पारिदिए।
[36] तब उहाँले त्यस देशका सबै पहिले जन्मेकाहरूलाई, तिनीहरूका पुरुषार्थका पहिलो फलहरूलाई नाश पार्नुभयो।
[37] उहाँले इस्राएललाई सुन र चाँदीले भरिपूर्ण पारि निकालेर ल्याउनुभयो; र तिनीहरूका कुलबाट कसैले पनि ठक्कर खाएनन्।
[38] तिनीहरू निस्केर जाँदा इजिप्ट रमायो; किनकि इस्राएलको डर तिनीहरूमाथि परेको थियो।
[39] उहाँले आवरणको रूपमा बादललाई फैलाउनुभयो, र रातमा उज्यालो दिनलाई आगो दिनुभयो।
[40] तिनीहरूले मासु खान मागे, र उहाँले तिनीहरूका निम्ति बट्टाई चराहरू दिनुभयो; स्वर्गका रोटीले तिनीहरूलाई तृप्त पार्नुभयो।
[41] उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो; त्यो मरुभूमिमा नदीझैँ बग्यो।
[42] किनकि उहाँले आफ्नो सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो।
[43] उहाँले आफ्ना प्रजालाई आनन्दसाथ, र आफूले चुनेका जनहरूलाई हर्षोल्लासकासाथ गाउन लगाउँदै निकालेर ल्याउनुभयो;
[44] उहाँले अरू जातिहरूका भूमिहरू तिनीहरूलाई दिनुभयो; र अरूले गरेको परिश्रमको फलमा तिनीहरूले आफ्नो अधिकार गरे—
[45] तिनीहरूले उहाँका विधिहरू पालन गरून् र उहाँका नियमहरू मानून् भनेर नै यी सबै भए। याहवेहको प्रशंसा गर!