[1] याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
[2] बिहान तपाईंको अचुक प्रेमको र राति तपाईंको विश्वासयोग्यताको घोषणा गर्नु,
[3] दशतारे वीणाको सङ्गीतमा र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।
[4] किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ; तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
[5] हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्! तपाईंका विचारहरू कत्ति गहन छन्!
[6] विवेकहीन मानिसले यो जान्दैन, मूर्खले यो बुझ्न सक्दैन,
[7] यद्यपि दुष्टहरू घाँसजस्तै मौलाउँछन्, र सबै कुकर्मीहरूको फलिफाप पनि हुन्छ, तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्ट पारिनेछन्।
[8] तर तपाईं, हे याहवेह, सदासर्वदा उच्च हुनुहुन्छ।
[9] किनकि, हे याहवेह, तपाईंका शत्रुहरू, तपाईंका शत्रुहरू निश्चय नै नष्ट हुनेछन्; सबै कुकर्मीहरू तितरबितर हुनेछन्।
[10] तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ उच्च पार्नुभएको छ; उत्तम तेलले मेरो अभिषेक भएको छ।
[11] मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्; मेरा कानले मेरा दुष्ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।
[12] धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्; तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्;
[13] तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्, हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्।
[14] बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्; तिनीहरू ताजा र हरिया भइरहनेछन्,
[15] र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ; उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्टता छैन।”