[1] याहवेहले तपाईंको सङ्कष्टको दिनमा तपाईंलाई उत्तर देऊन्; याकोबका परमेश्वरका नामले तपाईंलाई सुरक्षा गरून्।
[2] उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्।
[3] उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्, र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला
[4] उहाँले तपाईंको मनको इच्छा पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गरून्।
[5] तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ, र हाम्रा परमेश्वरका नाममा हामी आफ्ना झण्डाहरू उच्च पार्नेछौँ। याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।
[6] अब मलाई थाहा भयो: याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।
[7] कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्, तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा भरोसा गर्दछौँ।
[8] तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्, तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।
[9] हे याहवेह, राजालाई विजय गराउनुहोस्! हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!