Skip to content
Opens in a new window
Listen to this chapter • 2:28

[1] दुष्‍टका पाप सम्बन्धी, मेरो हृदयमा परमेश्‍वरको एक सन्देश छ: तिनीहरूका आँखामा परमेश्‍वरको डर छैन।

[2] तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्, तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।

[3] तिनीहरूका मुखका शब्दहरू दुष्‍ट र छली छन्; तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्।

[4] तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्; तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्; र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।

[5] हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ।

[6] तपाईंको धार्मिकता परमेश्‍वरका अति उच्‍च पहाडहरू जस्तै छन्; तपाईंको न्याय गहिरो समुद्रजस्तै छ। हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ।

[7] हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ! मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।

[8] तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्; तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।

[9] किनकि जीवनको स्रोत तपाईंसँग छ; तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।

[10] तपाईंलाई चिन्‍नेहरूमा तपाईंको प्रेम र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।

[11] अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्, न त दुष्‍टका हातले मलाई भगाउन पाओस्।

[12] दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्; तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्।

भजनसंग्रह — Chapters