[1] हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्; किनकि मैले तपाईंमा शरण लिएको छु।
[2] मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ; तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”
[3] पृथ्वीमा भएका भक्तजनहरू चाहिँ, “तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।”
[4] अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ। म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ। न त तिनीहरूका नाम मेरो ओठले उच्चारण गर्नेछ।
[5] हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ; तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ।
[6] सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्; साँच्चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु।
[7] यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।
[8] म मेरो आँखा सधैँ याहवेहमा राख्दछु, उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
[9] यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।
[10] किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
[11] जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।